वेबटिभी खबर
भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले मध्य भागमा रहेको रूपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा सम्पदाहरू रहेकाले रूपन्देही देशकै प्रमुख आर्थिक केन्द्रसमेत बन्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रूपन्देही ३ बाट पाँचदलीय गठबन्धनका प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाणले गठबन्धनद्वारा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै रूपन्देहीमा आर्थिक तथा पर्यटकीय पूर्वाधार विकास जति धेरै गर्न सकियो, त्यति नै समग्र मुलुकको विकासका लागि कोशेढुंगा हुने जनाए ।
उनले भने, ‘पूर्वाधार मात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी वृद्धि लगायतका क्षेत्रमा पनि रूपन्देहीलाई अब्बल र विकसित बनाउन सरकारले कुनै किसिमको कमी हुन दिँदैन । चुनावपछि बन्ने गठबन्धन सरकारले यस कुरामा ध्यान दिन्छ । मैले ध्यान दिन्छु । रूपन्देहीमा हुने सबै किसिमका विकासमा बजेट अभाव हुने छैन ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई यात्रु बाहकको साथै कार्गो सेन्टरको रूपमा विकसित गरेर भैरहवालाई आर्थिक हव बनाउने अवसर पनि रहेको उनले बताए ।
उनले भने, ‘खाली यात्रु ल्याउने लैजाने मात्र होइन् । गौतमबुद्ध विमानस्थललाई कार्गो सेन्टरको रूपमा पनि विकसित गरि रूपन्देहीलाई आर्थिक केन्द्र बनाउन सकिने अवसर हामीसँग छ । यसतर्फ पनि सरकार लागिरहेको छ । यो कामले छिट्टै पूर्णता पाउने छ ।’
गृहमन्त्री खाणले विदेशबाट हवाई मार्ग हुँदै ल्याउनुपर्ने मालसामान गौतमबुद्ध विमानस्थल हुँदै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउन वातावरण सिर्जान हुँदा हजारौं रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने बताए ।
उनले नेपाली जनतालाई नै नेपालको मालिक बनाउन पाँच दलीय गठबन्धन बनेको दाबी गरे ।
उनले भने, ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने काम यही गठबन्धनबाट हुन्छ । संविधानको पालना गर्दै यहाँभित्र भएका कमीकमजोरी संशोधन गर्न पनि निर्वाचनपछि गठबन्धनकै सरकार आवश्यक छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij