वेबटिभी खबर
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको छ । हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको छ । यस वर्षको भाइटीकामा विभिन्नथरीका रु १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ । यस वर्षको भाइटीका कात्तिक १० गते परेको छ ।
यस वर्ष सरकारले तिहारमा फूल र माला आयातमा रोक लगाएको छ । जसले गर्दा पुष्प व्यवसायी, किसान तथा उपभोक्तालाइ राहत हुने भएको छ । माला एकपटक प्रयोग हुने वस्तु हो ।
‘किसानले तिहारमा माला बिक्री गर्ने उद्देश्यले पुष्पखेती गरेका हुन्छन् । तर उपभोक्ताले प्लाष्टिकका माला प्रयोग गरेपछि आम किसान मर्कामा पर्ने भएकाले प्लाष्टिकका माला उपभोग नगर्न आग्रह गरेका हौँ’, फ्यानका महासचिव विश्वमणि पोखरेलले बताए ।
प्रायःतिहारमा सयपत्री, मखमली र गोदावरी फूलको खपत हुने गरेको छ । नेपालमा फूल तथा फूलजन्य सामग्री छिमेकी मुलुक भारतबाट आयात हुने गरको थियो ।
नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु ११ करोडको फूल आयात गरेको थियो । गत वर्षको तिहारमा भारतबाट झन्डै तीन लाख वटा माला आयात भएको थियो । तर यस वर्ष समयमा नै वर्षा भएकाले फूलको उत्पादन बढेको हुँदा आयात आवश्यक नपर्ने फ्यानले बताएको छ ।
नेपालमा व्यावसायिक फूलखेती सुरुआत भएको २५ वर्ष पुगिसकेको छ । वि.सं. २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको फूल व्यवसायबाट आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा नेपालमा पुष्प व्यवसायको भविष्य उज्ज्वल रहे पनि नीतिगत समस्याका कारण अपेक्षाअनुसार लगानी बढ्न नसकेको बताउँछन् । नेपालको भौगोलिक विविधताका कारण संसारमा पाइने जुनसुकै फूल तथा वनस्पति खेती गरेर निर्यातसमेत गर्न सकिने प्रचुर सम्भावना छ ।
‘पुष्प क्षेत्रको लगानीबाट राम्रो प्रतिफूल लिन सकिन्छ । विश्वमा नेपाली फूल ‘हिमालयन फ्लावर’ का नाममा बिक्री हुनसक्छ । तर बृहत् लगानी हुन सकेका छैनन् । ठूला लगानी भित्र्याउन सरकारले नीतिगत सुधारमा ध्यान पुर्याउनुपर्छ’, अध्यक्ष गोल्छाले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij