वेबटिभी खबर
जुम्ला । चन्दननाथ नगरपालिका-५ कालेखोलीका मनोज बुढाथोकी मगरले जुम्लामै ७० जनालाई रोजगारी दिइरहेका छन् । उनले वैदेशिक रोजगारीका लागि विदेश जाने युवा शक्तिलाई स्वदेशमै रोक्न रोजगारीमूलक पेसा व्यवसायी सुरु गरेका हुन् ।
स्वदेशमा रोजगारको अवसर नपाएका युवाहरू दिनप्रतिदिन भरतसहितका खाडी मुलुकतिर लागेको देखेपछि युवालाई रोक्न उद्योग संञ्चालन गरेको मगरले बताए ।
मनोजले एम्स एग्रिकल्चर रिसर्च सेन्टर सञ्चालन गरेका छन् । उनले रिसर्ज सेन्टरमार्फत धेरै उद्यमशीलताका काम गर्दै आएको बताए । इँट्टा उत्पादन, ग्रील निर्माण, कुटानीपिसानी मिल, व्यावसायीक बङ्गुर पालनसहित बोर्डिङ स्कूल सञ्चालन गरेका छन् ।
उनको बङ्गुर पालन व्यावसायले बजारको फोहोरलाई मोहोरका रूपमा प्रयोग गरिरहेको छ । उनले फोहोर व्यवस्थापनको दिगो लक्ष्यसहित एक वर्षअघि ६ लाख लगानीमा बङ्गुर पालन व्यवसाय सुरु गरेका हुन् ।
एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा उद्यमी मनोजले व्यवसाय सुरु गर्दा तीन वटा बङ्गुर थिए । अहिले ४५ वटा छन् । बहुउद्देश्यीय लक्ष्यले बङ्गुरपालन सुरु गरिएको उनले बताए । बजारमा फोहोर बढ्दै गएपछि चन्दननाथ नगरपालिकालाई व्यवस्थापनको समस्या पनि उत्तिकै छ । तर बङ्गुर पालेर बजारको फोहोरलाई मोहोरका रूपमा प्रयोग गरिरहेका छन् ।
बङ्गुर फर्म आसपासको जग्गा भाडामा लिएर व्यावसायीक तरकारी खेती गर्ने र बङ्गुरको दिसालाई मलका रूपमा प्रयोग गर्ने उनकाे योजना छ । उनले भने, ‘बजारको फोहोर खुवाउने, दिसा मलका रूपमा प्रयोग गरि तरकारी खेती गर्ने बहुउद्देश्यीय लक्ष्य सफलता उन्मुख छ ।’
दैनिक रूपमा बजारको झण्डै तीन क्विन्टल कुहिने फोहोर व्यक्तिगत रूपमा संकलन गरि बङ्गुरको दानाको रूपमा प्रयोग भइरहेको छ । उनले कुटानी पिसानी मिलसमेत सञ्चालन गरेका छन् । जसबाट स्थानीयलाई राहत मिलेको छ ।
राजनीतिसँगै उद्यमशीलतामा सफल बन्दै गएका मनोजले आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र उद्यमशीलतामा जोड दिएका छन् । उद्यमशीलतामा लगानी बढाए अबको २० वर्षपछि जुम्लासहित मुलुक परनिर्भरताबाट मुक्त हुने उनले विश्वास गरेका छन् ।
मनोज राजनीतिज्ञ पनि हुन् । उनी माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य हुन् । विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका मनोजले २०७४ सालदेखि स्वदेशमै स्वरोजगार खोज्दै उद्यमशिलता गर्न थाले छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij