वेबटिभी खबर
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने बताएकी छिन् ।
ललितपुर महानगरपालिका १४ नं वडामा स्थापना गरिएको सत्ता गठबन्धनका तर्फबाट निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै उनले ललितपुरको कला, सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताएकी हुन् ।
‘ललितपुरको कला र संस्कृतिको विकास तथा पर्यटन प्रवर्द्धन गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्छ’, मन्त्री भुसालले भनिन्, ‘पर्यावरण संरक्षण गर्दै स्वच्छ वातावरण प्रवर्द्धन गर्नुपर्छ, पछाडि परेका महिला, आदिवासी जनजाति तथा बालबालिकालाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ, तब मात्र समृद्धि हासिल हुन्छ ।’
नेपालको संविधानबमोजिम प्रतिनिधिसभा सदस्यका लागि आवश्यक योग्यता पुगेका नागरिकलाई जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने व्यवस्था गरेकाले आफूले गएका तीन वटा निर्वाचन ललितपुरबाट नै सहभागी भएको मन्त्री भुसालले जानकारी दिइन् ।
‘विगत ४० वर्षदेखि म ललितपुरबाटै सक्रिय राजनीति गरिरहेको छु’, उनले भनिन्, ‘यस सम्बन्धमा कोही पनि भ्रममा पर्न जरूरी छैन ।’ गणतन्त्र र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन बनेको जनाउँदै मन्त्री भुसालले मुलुकको स्थायित्वका लागि देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिइन् ।
नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति एवम् ललितपुर क्षेत्र नं-३ (२) का उम्मेदवार जीतेन्द्रकुमार श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने संकल्प पूरा गर्न गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता रहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij