वेबटिभी खबर
म्याग्दी । म्याग्दीको बेनीनगरपालिका-१ रत्नेचौरबाट छिमेकी बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्यअन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरु गरेको हो ।
एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । तीन करोड लागतमा बन्ने उक्त पुल निर्माणको लागि भानीहिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी गत वर्षको असोजमा सम्झौता गरेको थियो ।
सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न हुने भएको हो । गतअसार मसान्तभित्र काम सक्ने गरी गत वर्षको कात्तिक ४ गतेबाट पुल निर्माणको काम अगाडि बढेको थियो ।
रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बाग्लुङ बजारमा आर्थिक कारोबार लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा झन सहज हुने अपेक्षा गरिएको बेनी नगरपालिका-१, रत्नेचौरका निवर्तमान वडाध्यक्ष टेकबहादुर रावलले बताए ।
पुल बनेपछि बाग्लुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको प्रचार-प्रसार हुने स्थानीयवासीको भनाइ छ ।
पुलको कूल लागत तीन करोड ५० लाख रहेको छ । पुल निर्माण गर्नका लागि बानपा ४ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनु भएको हो ।
दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने स्थानीयवासी युवा विष्णु कार्की क्षेत्रीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij