Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाढीबाट दाङका दशवटै पालिकामा क्षति

बाढीबाट दाङका दशवटै पालिकामा क्षति

  • 375
    SHARES
  • बाढीबाट दाङका दशवटै पालिकामा क्षति

    दाङ । अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको छ ।

    लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर संख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको संख्या तीन हजार एक सय ७८ रहेको छ ।

    दाङका १० स्थानीय तहमध्ये देउखुरीका चार पालिकामा सबैभन्दा बढी क्षति भएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीका अनुसार जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौतिक क्षति भएको हाे ।

    राजपुरमा तीन सय २५, बङ्गलाचुली गाउँपालिकामा तीन सय, लमही नगरपालिकामा दुई सय ६५, गढवा गाउँपालिकामा दुई सय ५४, राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ ।

    यस्तै घोराही उपमहानगरपालिकामा ८०, तुलसीपुर उपमहानगरपालिकामा ७, बबई गाउँपालिकामा ७०, शान्तिनगर गाउँपालिकामा ४४ र दङ्गीशरण गाउँपालिकामा ३० घर पूर्णरुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका परिवार विस्थापित भएका छन् ।

    देउखुरीको चार पालिकाको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै ९ सय ६४ घर पूर्णरुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवारका सदस्य विस्थापित भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

    घरमा आंशिकरुपमा क्षति हुनेमा सबैभन्दा बढी लमही नगरपालिकामा रहेको छ । केन्द्रका प्रमुख गिरीका अनुसार, लमही नगरपालिकामा एक हजार एक सय ९६, गढवा गाउँपालिकामा आठ सय ५२, राप्ती गाउँपालिकामा चार सय ९०, बङ्गलाचुली गाउँपालिकामा दुई सय, राजपुर गाउँपालिकामा एक सय २५ घरमा आंशिक क्षति भएको विवरण गाउँपालिकाबाट प्राप्त भएको उनले जानकारी दिए ।

    यस्तै घोराही उपमहानगरपालिकामा एक सय २०, बबई गाउँपालिकामा ८०, शान्तिनगर गाउँपालिकामा ५६, दङ्गीशरण गाउँपालिकामा ४० र तुलसीपुर उपमहानगरपालिकामा १९ घरमा आंशिक क्षति भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

    अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी दाङमा ९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार असोज १८ गते रातिदेखि भएको वर्षापछिको बाढी र पहिरोमा परी ९ जनाको मृत्यु भएको हो ।

    ज्यान गुमाउनेमा सबैभन्दा धेरै बङ्गलाचुलीका ४, घोराही उपमहानगरपालिकाका ३ तथा राप्ती र बबई गाउँपालिकाका एक/एक जना रहेका प्रहरीले जनाएकाे छ ।

    मानवीय क्षति व्यहोरेका परिवारका सदस्यलाई नेपाल सरकारको निर्णयअनुसार प्रतिव्यक्ति दुई लाख राहत उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।

    पूर्णरुपमा घर भत्किएकाको हकमा १५ हजारदेखि २० हजार राहत दिइने व्यवस्था छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij