वेबटिभी खबर
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाविरूद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ । अधिवक्ता अनिल आचार्यले उनीहरू विरूद्ध सवोच्च अदालतमा रिट दायर गरेका हुन् ।
नैतिक पतनका मुद्दा खेपेका विजय कुमार गच्छेदार, सरिता गिरी, गोविन्दराज जोशी, बिक्रम पाण्डे, प्रभु साह, टेकबहादुर गुरूङ, लक्ष्मी महतो, युद्ध विक्रम तामाङ र रेवतराज पुरीले दिएको उम्मेदवारी खारेज गरि पाउँ भनी अधिवक्ता आचार्यले बिहीबार सर्वाेच्चमा रिट दायर गराएका छन् ।
नेपाली कांग्रेसले सुनसरी क्षेत्रनम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा बिजय कुमार गच्छेदारलाई उम्मेदवार बनाएको छ । तनहुँको क्षेत्रनम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
बिक्रम पाण्डेले चितवन जिल्ला क्षेत्रनम्बर-२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । प्रभु साहले रौतहट क्षेत्रनम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै सरिता गिरीले सिरहाको क्षेत्रनम्बर-१ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्ररूपमा उम्मेदवारी दिएकी छिन् । टेकबहादुर गुरूङले मनाङ जिल्लामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
लक्ष्मी महतोले महोत्तरी क्षेत्रनम्बर-१ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छिन् । डीबी तामाङ भनिने युद्धबिक्रम तामाङले सिन्धुपाल्चोक क्षेत्रनम्बर-१ (क) बाट नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
गगन भन्ने रेवतराज पुरीले झापा जिल्ला क्षेत्रनम्बर-५ (ख) बाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
रिटमा नेपालको संबिधानको धारा ८७ र ९०, राजनैतिक दल सम्वन्धी ऐन, २०७३ को दफा १४, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ तथा नेकपा (एमाले)को विधान, २०४९ को धारा ४ समेतको व्यवस्था बमोजिम नैतिकवान्, स्वच्छ चरित्र र असल चालचलन भएका ब्यक्ति बाहेक अन्य नैतिक पतन देखिने तथा फौजदारी कसुरमा सजाय पाएका ब्यक्तिहरू निर्वाचनमा उम्मेदवार बन्न नपाउने कानूनी व्यवस्था रहेको दाबी गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij