Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आँधीमूल मन्दिरका माछा जोगाउन पोखरीमा तारबार

आँधीमूल मन्दिरका माछा जोगाउन पोखरीमा तारबार

  • 498
    SHARES
  • आँधीमूल मन्दिरका माछा जोगाउन पोखरीमा तारबार

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो ।

    जलदेवताको रूपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्यरूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पूजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको मन्दिरका पुजारी युवराज मास्केले बताए ।

    मन्दिर परिसरमा रहेको माछा जोगाउनका लागि पोखरीमा तारबार गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा विनियोजित बजेटबाट आँधीमूल मन्दिर रहेको नजिकको पोखरीको माछा संरक्षणका लागि तारबार गरिएको हो ।

    दुई वटा पोखरीमा रहेका माछाको सुरक्षाका लागि जाली सहितको रेलिङ निर्माण गरिएको आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए ।

    ‘पोखरीमा रहेका माछा पोखरीबाट बाहिर खस्ने सम्भावना रहेको हुँदा तारजाली राखेर सुरक्षित बनाएका छौ,’ उनले भने । गण्डकी प्रदेश सरकारबाट आँधीमूलमा धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि दुई लाख ५० हजार बजेट विनियोजन गरिएको थियो ।

    उक्त बजेटबाट वनभोजस्थलमा तीन वटा पानीको धारा र बिजुली बत्ती व्यवस्थापनका लागि मिटर बक्स व्यवस्था गरिएको थापाले जानकारी दिए । प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो ।

    परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवम् मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जंगल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

    यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । आँधीमूल पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ ।

    पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यस ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुन थालेको हो । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सडक कालोपत्र गरिएको छ ।

    पृथ्वीराजमार्गको सत्रसयदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल नौ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । 

    यसअघि कच्ची सडक हुँदा पनि आँधीमूलमा पर्यटकको भीड रहने गरेकामा सडक कालोपत्र भएपछि त्यो संख्या अझै बढ्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारा लगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

    आँधीमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा-टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि रहेको छ । 

    पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको गाउँपालिकाले जनाएको छ । यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालिकाले गत वर्ष तारबार लगाउनुका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरेको छ । 

    गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । 

    आँधीमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा-टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij