Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

‘मादल बनाएरै बुढ्याैली टेकिएछ’

‘मादल बनाएरै बुढ्याैली टेकिएछ’

  • 427
    SHARES
  • ‘मादल बनाएरै बुढ्याैली टेकिएछ’

    रामपुर/पाल्पा । सेतै फुलेका कपालमाथि ढाकाटोपी, चिटिक्क परेको सानो घरको पिँढीमा बसेर मादलमा खरी भर्नमै ध्यान तानिएको छ रामबहादुर वादीको । उनी आफ्नै सुरमा बिहान उज्यालो भएदेखि साँझसम्म मादल बनाउनमा व्यस्त छन् ।

    पाल्पाको रामपुर नगरपालिका–८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लागे, मादल बनाउने मोह उनको जवानी अवस्थाकै छ ।

    पिँढीमा बसेर मादल बनाउने र विभिन्न ठाउँमा पुगेर बेच्ने गर्छन् । उनी भन्छन्,‘कपाल दाह्री फूल्यो तर मादल बनाउने मोह घटेन, मादल बनाएरै बुढ्याैली टेकिएछ, यसमै तल्लिन रहेर काम गर्दा उमेर बढ्दै गएको पत्तो पाइएन, यसरी नै जीवन बितिरहेछ ।’

    पूर्वी पाल्पामै व्यावसायिक रूपमा मादल बनाउन उनी सक्रिय छन् । घरमा बुबाबाट मादल बनाउने सीप सिकेका रामबहादुरले १७ वर्षको उमेरदेखि यस क्षेत्रमा व्यावसायिक रूपमा निरन्तर लागेका छन् । यसैबाट उनको परिवारको जीविका चलेको छ । उनले एक दिनमा एउटा मादल तयार पार्छन् ।

    आकार अनुसार एउटा मादललाई न्यूनतम दुई हजारदेखि बढीमा सात हजारसम्म पर्छ । मादल तयार पार्न कच्चापदार्थ गाउँघरमा उपलब्ध नहुँदा पोखराबाट झिकाएर तयार पार्नुपर्छ । सामान लिन जान समस्या पर्ने गरेको उनको गुनासो छ ।

    ‘मादलको माग बढिरहेको छ, मूल्य पनि राम्रै पाइन्छ तर बाहिरबाट सामान ल्याउन झन्झट छ, स्थानीय सरकारले सामानको बन्दोबस्त गरिदिनुपर्यो, हातमा सीप भएपछि घरमै बसी बसी पैसा हात पर्ने रहेछ’, उनले भने ।

    जवानी अवस्थामा एक महिनामा ५० बढी मादल बनाएर बिक्री गरेको अनुभव उनी सुनाउँछन् । रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा उनलाई  रू ५० हजार दिएको थियो ।

    घरमा  मादल बनाउन उनलाई कान्छो छोराले सघाएका छन् । बाउ छोराले एक वर्षमा दुई सयदेखि तीन सयसम्म मादल तयार पार्ने गरेको रामबहादुरले बताए । बाउबाजेले धान्दै आएको पुख्यौली पेसा संरक्षण गर्न आफूले बुबाबाट ज्ञान सीप सिकेर यस व्यावसायमा लागेको उनका छोरा बेगबहादुर वादी बताउँछन् ।

    ‘गाउँघरमा मादल बनाउने कोही छैनन्, संकटमा परेको यस व्यवसायलाई संरक्षण गर्दै व्यावसायिक रूपमा लागेको छु, निरन्तर लागे यसमा भविष्य छ, बुबाको पेसालाई मैले बुढ्यौलीसम्म धान्ने प्रण गरेर यसमै लागेको छु,’ उनले भने ।

    घामपानी भन्न नपर्ने, घरको पिँढी, कोठामा बसेर काम गरिरहदा यसमा आफ्नो सीप विकास मात्र नभइ समाजमा चिनिने अवसर मिलेको बेगबहादुरले बताए । उनका अनुसार मादल खरिद गर्न ग्राहक घरमै आउँछन् ।

    उनले परिवार धान्ने अन्य पेसा व्यावसाय नभएकाले मादल बनाउने पेसा नै आयआर्जनको मुख्य स्रोतका रूपमा लिएका छन् । भावी सन्ततिलाई पनि बाउबाजेले जसरी नै आफ्नो सीप सिकाउने इच्छा रहेको बेगबहादुरको भनाइ छ ।

    संकटमा रहेको यस व्यवसायमा लागेका व्यक्तिलाई प्रोत्साहन गर्दै व्यवसाय संरक्षण गर्न स्थानीय सरकारले विभिन्न सीपमूलक कार्यक्रम ल्याउनुपर्ने स्थानीयवासी हीरा विक बताउँछन् ।

    ‘पूर्वी पाल्पाकै एकमात्र वादी परिवारको बसोबास रामपुरमा छ, हामीले जानेदेखि नै रामबहादुरले मादल बनाउँदै आउनुभएको छ’, उनले भने, ‘मादलमा आकर्षक बुट्टा भरेर तयार पार्ने कला लोभलाग्दो छ, यस्ता लोपोन्मुख अवस्थामा रहेका पेसा संरक्षणमा स्थानीय निकायले ध्यान दिनुपर्छ ।’

    पछिल्लो समय मादल बनाउने व्यक्ति अति न्यून हुँदा माग अनुसार उत्पादन हुन सकेको छैन । मादल बनाउने वादी समुदायको पुर्ख्याैली पेसा अहिले लोप हुने अवस्थामा छ ।

    पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । पुराना पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा उनीहरूको पेसा हराउँदै गएको हो । नयाँ पुस्ताले यसमा चासो नहुँदा अहिले वादी समुदायले मादल बनाउन बिर्सिन थालेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij