वेबटिभी खबर
महोत्तरी । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ९७ हजार मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोका अनुसार चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आसन्न निर्वाचनका लागि तीन लाख ९७ हजार ३० मतदाता कायम भएका हुन् ।
उनले जिल्लामा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ९८ महिला र एक जना अन्य गरी तीन लाख ९७ हजार ३० मतदाता कायम भएको जानकारी दिए ।
जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा ९८ हजार चार सय ९७, २ नम्बर निर्वाचन क्षेत्रमा ९९ हजार सात सय सात मतदाता कायम भएका छन् । यस्तै ३ नम्बर निर्वाचनमा ९९ हजार नौ सय ३० मतदाता र ४ नम्बर निर्वाचन क्षेत्रमा ९८ हजार आठ सय ९६ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी महतोले बताए ।
यसअघि गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा महोत्तरीमा तीन लाख ९१ हजार पाँच सय ७७ मतदाता रहेका थिए भने अहिले उक्त् संख्या पाँच हजार चार सय ५३ ले बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij