वेबटिभी खबर
काठमाडौं । चाड पर्व नजिकिएसँगै आपराधिक गतिविधि नियन्त्रण गर्न उदयपुरले ३७७ जना प्रहरी खटाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दसैँ, तिहार, छठ पर्व र नेपाल सम्वतलगायत पर्वलाई लक्षित गरि एकीकृत सुरक्षा योजना लागू गर्ने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुरुप एकीकृत सुरक्षा योजना लागू गर्न लागेको हो ।
नेपालीको महान चाड वडा दसैँ, तिहार, छठ, नेपाल सम्वतलगायत साँस्कृतिक महत्वका पर्व नजिकिँदै गरेको सन्दर्भमा उल्लेखित चाडलाई शान्तिपूर्ण तथा हर्षोल्लास बनाउन जिल्ला प्रहरी कार्यालय उदयपुरले दैनिक नौ वटा गाडीमा मोबाइल गस्ती पनि थालेको छ ।
त्यस्तै २० वटा मोटरसाईकल गस्ती, मुख्य बजार क्षेत्रका २४ स्थानमा पिकेट, ग्रामिण इलाकामा १२ वटा ग्रामिण गस्ती, विभिन्न १० स्थानमा दैनिक सरप्राईज चेकिङ, ट्राफिकसहितको संयुक्त चेकिङ १० स्थानमा परिचालित हुने र बढी भाडा रकम असुल गर्ने, दुर्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्नेलाई निरुसाहित गर्न तथा यात्रुलाई आवत जावत गर्न सहज बनाउने उद्देश्यले सात स्थानमा सहायता कक्ष समेत स्थापना गरिएको छ ।
शान्तिपूर्ण र भयरहित तबरमा चाडपर्व मनाउन सक्ने वातावरण सिर्जना गर्न एकीकृत सुरक्षा योजना जिल्लाभर लागू गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।
त्रियुगा नगरपालिका-३ स्थित त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अनावश्यक झोला तान्ने, बढी भाडा असुल्ने, एउटै सिटमा धेरै जनाको टिकट काट्ने लगायतका समस्या समाधानका लागि कक्ष स्थापना गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख वरिष्ठ नायब निरीक्षक लोकबहादुर दियालीले भने, ‘गाडी छुटे फोन गरेर रोकेर भए पनि पठाई दिन्छौं । यात्रुहरुमाथि अनैतिक, अभद्र व्यवहार भए जुनसुकै गुनासा आए कानुनी कारबाही हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij