Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भन्सार छलेर ल्याइएका माछा नष्ट

भन्सार छलेर ल्याइएका माछा नष्ट

  • 587
    SHARES
  • भन्सार छलेर ल्याइएका माछा नष्ट

    चितवन । भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका-१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।

    वीरगन्ज महानगरपालिका-२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना७ख ८८२२ नंको रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी संघले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् ।

    बसमा १४ कार्टुन नैनी माछा, एक/एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो । करिब पाँच सय ६० केजी माछामध्ये ५० देखि ६० प्रतिशत सडेको अवस्थामा पाइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका पशु स्वास्थ्य प्राविधिक शिरिष गौतमले जानकारी दिए ।

    त्यस माछालाई सोमबार सरोकारवालाको रोहबरमा राष्ट्रिय पक्षी रोग प्रयोगशालामा रहेको बायोलोजिकल पीटमा नष्ट गरिएको छ । अवैधरूपमा नेपाल भित्र्याइएका माछा नियन्त्रणमा लिएर नष्ट गर्ने अभियानमा राज्यका निकायलाई सहयोग गरिरहेको संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बताए ।

    उनले भारतका अवैध माछाले बजार कब्जा गरेपछि नेपालमा उत्पादन भएका माछा बिक्री हुन छाडेको गुनासो गरे । विभिन्न नाका हुँदै दैनिक ५० टन माछा भारतबाट भित्रिएको संघको दाबी छ ।

    संघले देशका विभिन्न नाकामा पुगेर अनुगमन गर्दा दैनिक ५० टन माछा भन्सार छलेर नेपाल भित्रिएको पाइएको जनाएको छ । चितवनमा वार्षिक ६ हजार पाँच सय टन माछा उत्पादन हुन्छ । यसको करिब ६५ प्रतिशत जिल्लाभित्रै खपत हुन्छ ।

    बाँकी काठमाडौं, पोखरालगायतका बजारमा बिक्री हुने गरेको संघका जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले बताए । पछिल्लो समय भारतीय माछाको अवैध आयात बढेकाले यहाँको उत्पादनले बजार पाउन नसकेको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij