वेबटिभी खबर
काठमाडौं । पूर्वी नवलपरासीमा राहदानी बनाउन तीन महिना पर्खिनुपर्ने बाध्यता रहेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका-१५ का गोविन्द महतोले आवेदन दिएको करिब तीन महिनापछि मात्रै राहदानी हातम परेको बताए ।
राहदानीका लागि गत असार १७ गते फारम भरेका उनले बायोमेट्रिक गर्ने पालो करिब ४७ दिनपछि मात्रै आएको उनको भनाइ छ । उनले भने, बायोमेट्रिकको एक महिनापछि मात्रै राहदानी हात पर्यो ।’
यसैगरी कावासोती-१२ की निशा लम्सालले गत साउन १८ गते फारम भरेर टोकन लिएकी थिइन् । उनले बायोमेट्रिक गर्न ५१ दिनपछि मात्रै पालो पाएको बताइन् ।
सरकारले विद्युतीय राहदानी अनिवार्य गरेपछि राहदानी बनाउन आउनेको संख्या बढेको र राहदानी बनाउनुअघि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले राहदानी बनाउनका लागि लामो समय लाग्ने गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खिमराज भुसालले बताए ।
राहदानी बनाउन आउनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले टोकन सिस्टम सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार राहदानीका लागि एक दिनमा अधिकतम १०० जनाको मात्रै ‘बायोमेट्रिक’ गर्न सक्ने अवस्था छ ।
पर्याप्त कर्मचारी र बायोमेट्रिक गर्ने मेसिनको कमीले मुस्किलले एक सय जनासम्मको बायोमेट्रिक हुने गरेको हो । कर्मचारीको र बायोमेट्रिक गर्ने मेसिन कम हुँदा राहदानीको आवेदन फारम भरेको करिब दुई महिनापछि मात्रै बायोमेट्रिक गर्ने पालो आउने गरेको छ ।
बायोमेट्रिक गरेपछि पनि राहदानी सेवाग्राहीको हातमा पर्न थप एक महिना समय लाग्ने उनले बताए । कोभिड-१९ (कोरोना संक्रमण) सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरूपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको संख्या बढेको जनाइएको छ ।
उनका अनुसार राहदानी बनाउन आउनेहरूमा धेरै युवा छन् । त्यसमा पनि वैदेशिक रोजगार र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ । गत आवभन्दा चालु आवको सुरुआतदेखि नै राहदानी बनाउनेको संख्या बढेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार गत आव २०७८/७९ मा ९ हजार ६७५ जनाले राहदानी बनाएकामा चालु आवको पहिलो महिना साउनमा २ हजार ६८४ जनाले राहदानी बनाउन फारम भरेका छन् ।
राहदानी बनाउन आउनेको संख्या बढेको तर बायोमेट्रिक गर्ने कर्मचारी र मेसिन पर्याप्त नहुँदा राहदानी पाउनका लागि लामो समय लाग्ने गरेको हो । यसैबीच राहदानीबाट मात्रै जिल्लामा कार्यालयले गत एक वर्षमा मात्रै पाँच करोड बढी राजस्व संकलन गरेको छ ।
गत आव २०७८/७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट पाँच करोड १लाख ३८ हजार ५०० रूपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रसासन कार्यालय नवलपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
यो अवधिमा ७ हजार ४०५ जनाले साधरण राहदानी र १ हजार ४७६ जनाले विद्युतीय राहदानी बनाएका भुसालले बताए । आव २०७७/७८ मा दुई करोड ३४ लाख ३५ हजार, आव २०७६/७७ मा दुई करोड ४७ लाख ६७ हजार ५०० र आव २०७५/७६ मा ३ करोड ३८ लाख ८७ हजार पाँच सय राजस्व संकलन भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij