वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक-२०७९ माथि दफाबार छलफल भइरहेको छ ।
सोही क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरूले धारणा व्यक्त गरिरहेका छन् ।
जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख सचेकतसमेत रहेका विशाल भट्टराईले विधेयकमाथि धारणा राख्दै संशोधन प्रस्ताव पेस गरेका थिए ।
त्यसै क्रममा सरकार र सत्तारूढ दलप्रति उनी आक्रमक रूपमा अभिव्यक्ति दिए । एक्लै चुनाव लड्न गठबन्धन आबद्ध दललाई चुनौती दिँदै उनीहरूले गठबन्धनप्रति टिप्पणी गरेका छन् ।
बालुवाटारमा गठबन्धनको बैठक बसेकोप्रति आपत्ति जनाउँदै खर्च राज्यकोषले व्यहोर्नुपरेको उनीहरूको भनाइ छ ।
यसपछि संशोधन प्रस्ताव पेस गर्दै कांग्रेस सांसद प्रकाश रसाइलीले एमाले सांसदलाई जवाफ दिँदै भने, ‘मध्यराति संसद विघटन गर्ने, संसद चाहिँदैन भन्ने, अहिले त्यही सांसद पदको लागि भोट माग्दै हिँड्ने ?’
आफूले गठबन्धन गर्दा पवित्र हुने र अरूले गर्दा अपवित्र हुने ? भन्दै एमाले सांसदलाई प्रश्न गरे । उनले भने, ‘हिजो एमाले पनि गठबन्धन गरेर गएको थियो, त्यतिखेर कांग्रेस एक्लै लडेको थियो । अहिले अरुले गठबन्धन गर्दा अपवित्र हुने ?’
कांग्रेस र एमालेका सांसदले भने प्रतिनिधिसभाको कार्यकाल मनोनयन दर्तासँगै सकिनुपर्ने प्रस्ताव गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij