Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

छुर्पी उद्योग स्थापना भएपछि दूधको बिक्री बढ्यो

छुर्पी उद्योग स्थापना भएपछि दूधको बिक्री बढ्यो

  • 334
    SHARES
  • छुर्पी उद्योग स्थापना भएपछि दूधको बिक्री बढ्यो

    तेह्रथुम । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । उद्योग स्थापना भएपछि किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका हुन् ।

    घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्साहित भएका छन् । किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न थालेका छन् । गाउँमा छुर्पी उद्योग सुरु हुनुअघि अधिकांस किसानले घ्यू मात्रै उत्पादन गर्ने गर्थे ।

    त्यति मात्रै होइन, उनीहरू टाढा टाढासम्म दूध बिक्री गर्न लैजान बाध्य थिए । गाउँभन्दा टाढासम्म दूध बेच्न लैजाँदा समयमा पैसा नपाउने र कम मूल्यमा बेच्न किसान बाध्य थिए ।अहिले किसान गाउँमै स्थापना भएको उद्योगले दूध खरिद गर्न थालेपछि खुसी भएका छन् ।

    छथर गाउँपालिकाको हमरजुङ, ओख्रे र सुदापबाट दैनिक तीन सयदेखि पाँच सय लिटरसम्म दूध संकलन हुने गरेको छ । यही दूधबाट दैनिक ५० किलोसम्म छुर्पी र ३० किलोसम्म घीउ उत्पादन हुने गरेको छ ।

    यसले छुर्पी र घ्यू उत्पादन गर्ने व्यवसायीलाई फाइदा पुगेको छ । दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि घरखर्च चलाउन सजिलो भएको स्थानीय छत्रबहादुर खड्काले बताए।

    ‘दूध सबै डेरीमा लैजान्छौँ । अहिले त जीविकोपार्जन गर्न सहज भएको छ’, उनले भने, ‘यसकै आम्दानीले चार जनाको परिवार पाल्न सहज भएको छ ।’ गाउँमा छुर्पी उद्योग सञ्चालनमा आएपछि दुग्ध उत्पादक किसानलाई मात्र होइन उद्योगीसमेत खुसी भएका छन् ।

    छुर्पीले राम्रो बजार पाएपछि उद्योगीले मनग्य आम्दानी गर्न थालेका छन् । जनकन्या किसान पशुपालन सहकारी संस्थाका सचिव रामबहादुर भट्टराईले थछरका धेरैजसो किसानले दूध बेच्न ल्याउने भएका कारण व्यापार बढेको बताए ।

    भट्टराई जस्तै अर्का किसान तिला खुलालले भनिन्, ‘पहिले दूधको भाउ नपाउँदा श्रीमान् विदेशिनु परेको थियो । अहिले गाउँमै फर्किएर पशुपालनमा लागेका छौँ । यसबाट राम्रै आम्दानी भएको छ । अहिले यही नै आम्दानीको मुख्य स्रोत बनेको छ ।’

    गाउँपालिकाले स्थानीयलाई लक्षित गरी छुर्पी प्रवर्द्धन कार्यक्रम अघि बढाएको छ । पालिकाले नै किसानलाई लक्षित गरी सहुलियत र अनुदान दिने कार्यक्रम ल्याएपछि उनीहरूको आयस्रोत बढेको हो ।

    छथर गाउँपालिले केही वर्षयता लगाताररूपमा छुर्पी उद्योग र पशु विकासका लागि अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘निजी उद्योग पनि सञ्चालनमा आएका छन् । उनीहरूलाई पालिकाले छुर्पी प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न सामग्री खरिदमा ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ’, प्रवक्ता राजन नेपालीले भने ।

    ‘गत आवमा पनि दुग्धजन्य उद्योगका लागि १८ लाख खर्च गरेका थियौँ ।’ गाउँपालिकाले थप किसान लक्षित कार्यक्रम ल्याउनुपर्ने स्थानीय उमेश ठकुरीको भनाइ छ । छुर्पी उद्योगसमेत सञ्चालन गर्दै आएका ठकुरीले शहरमा भन्दा पनि ग्रामीण क्षेत्रका किसानको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

    यहाँ पाँच उद्योगबाट छुर्पी उत्पादन भइरहेको छ । बिक्रीका लागि कुनै समस्या छैन् । यहाँ उत्पादित छुर्पी तेह्रथुमका साथै धनकुटा, धरान, विराटनगर, काठमाडौंलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ ।

    स्थानीयस्तरमै उत्पादित छुर्पीको बजार प्रवर्द्धनमा ध्यान दिनसके छथरको छुर्पीलाई छुट्टै ब्राण्ड बनाउन सकिने तथा विदेशसमेत निर्यात गर्न सकिने स्थानीयवासी बताउँछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij