वेबटिभी खबर
सिन्धुपाल्चोक । गाउँमै व्यवसाय गरेर आर्थिकरूपमा सक्षम बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मेलम्ची नगरपालिका-५ सिन्धुकोटका दीपक बोगटी ।
२०७० सालमा रोजगारी खोज्दै मलेसिया गएका उनी अहिले गाउँ फर्केर स्वरोजगार बन्दै अन्यलाई पनि रोजगारी दिएका छन् । बोगटीले छाला व्यवसाय सुरु गरेको दुई वर्ष भयो ।
विदेशमा सोचेभन्दा कम आम्दानी भएपछि नेपाल फर्किएर व्यवसाय गरेका उनको छाला व्यवसायमा पाँच जनाले रोजगारी पाएका छन् । बोगटी मात्रै होइन सिन्धुकोटका ९० घरले उक्त व्यवसाय गरिरहेका छन् ।
नब्बे घरको उद्योग व्यवसायको अध्यक्षसमेत बोगटी नै हुन् । बाउबाजेले परम्परागतरूपमा गर्दै आएको व्यवसाय अहिले आधुनिकीकरण गदै नयाँ उपकरणद्वारा सञ्चालन गर्दा झनै राम्रो उत्पादन हुने गरेको अर्का व्यवसायी बालकुमार बस्यालले बताए ।
उनका अनुसार पहिला-पहिला बाजेहरूले हातले बनाउने गर्थ्ये भने अहिले आधुनिक उपकरणद्वारा सामग्री उत्पादन गरिन्छ । अहिले सिन्धुकोटमा चारवटा उद्योग सञ्चालनमा आएका छन् । छाला ब्याग उद्योगमा छालाबाट बन्ने विभिन्न सामग्री उत्पादन हुने गरेका छन् ।
परम्परागतरूपमा गर्दै आएको छालाको सामान बनाउने पेशालाई आधुनिक उपकरणद्वारा ब्याग, स्कुलब्याग, ल्यापटप ब्याग, पर्स, बेल्टलगायत सामग्री बनाउन थालेपछि युवाहरूले गाउँमै बसेर मनग्य आम्दानी गरेका छन् ।
नगरपालिका, संघ संस्था, वडा कार्यलयहरूसँग सम्मन्व गरेर काम गरिरहेको अर्का व्यवसायी चुलबहादुर बस्यालले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij