Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

२८ वर्षपछि सिँचाइ आयोजना सम्पन्न

२८ वर्षपछि सिँचाइ आयोजना सम्पन्न

  • 324
    SHARES
  • २८ वर्षपछि सिँचाइ आयोजना सम्पन्न

    पर्वत । पर्वतमा एउटा सिँचाइ आयोजना २८ वर्षमा निर्माण सम्पन्न भएको छ । जलजला गाउँपालिका-७ स्थित सल्यान सिँचाइ आयोजनाको काम यति लामो समयपछि पूरा भएको हो ।

    २०५१ मा निर्माण सुरु भएको उक्त आयोजनाको नहर हालै सम्पन्न भएको हो । उक्त नहर बर्सेनि सरकारको थोर-थोरै लगानी र स्थानीयको श्रमदानबाट निर्माण गरिँदै आएको थियो ।

    उपभोक्ता समितिका अध्यक्ष रुद्रलाल उपाध्यायका अनुसार सिँचाइ कुलो बनेपछि यहाँका दुई सय परिवार लाभान्वित भएका छन् । झण्डै ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

    ‘नहर पूरा नहुँदा सामान्य खनिएको कुलोमा पानी चुहावट हुने समस्या थियो’, उनले भने, ‘नहर निर्माण सम्पन्न भएपछि मुहानबाट आएको जति पानी खेतमा पुग्न थालेको छ ।’

    आव २०७६/७७ मा गण्डकी प्रदेश सरकारवाट विनियोजित १ करोड ९७ लाखमा नहरको काम सम्पन्न भएको हो । उक्त बजेट ठेक्कामार्फत कार्यान्वयन गरी काम सम्पन्न भएको वडाध्यक्ष टुंगनाथ शर्माले बताए ।

    ‘गत आर्थिक वर्षमा दुई हजार चार सय मिटर नहर पुनःनिर्माणले पूर्णता पाएको थियो’, उनले भने, ‘भुसुनेको मुहानबाट सल्यानसम्म मुख्य नहर पक्की बनाइएको छ । शाखा नहर बनाउनका लागि पनि योजनालाई निरन्तरता दिन पहल गरेका छौँ’, उनले भने ।

    यसपालि धान रोप्न र पानी लगाउन विगत जस्तो धेरै दिन पालो लगाउनु नपरेको शर्माको भनाइ छ । अक्करे जोखिमयुक्त भिरमा पहिले नहर बनाउने क्रममा सात जनाले ज्यान गुमाएका थिए ।

    लामो समयपछि निर्माण भएको आयोजना अन्तिम समयमा गण्डकी प्रदेश सरकारअन्तर्गतको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सम्पन्न गरेको हो ।

    धाइरिङ धवलागिरि क्षेत्रमा सबैभन्दा धेरै व्यावसायिक तरकारी खेती हुने गाउँ हो । यहाँ ताजा तरकारीको साथै बीउ पनि उत्पादन हुन्छ । सल्यान सिँचाइ आयोजना निर्माण हुनुअघि सल्यानमा घैया धानखेती हुन्थ्यो ।

    सिँचाइ आयोजना निर्माण भएसँगै गुडुरा, गौरिया जातको धान भित्रिएको र सल्यानका कृषकको जीवनस्तरमा सुधार ल्याएको स्थानीय दण्डपाणि रिजालले बताए ।

    सिँचाइ सुविधापछि विदेशबाट फर्किएका कृषकले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका उपभोक्ता समितिका सदस्य हरि आचार्यले बताए ।

    आयोजनाको शुक्रबार गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारी र संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले संयुक्तरूपमा शिलालेख अनावरण गरेर उद्घाटन गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij