वेबटिभी खबर
काठमाडौं । नेपाल पत्रकार महासंघका पदाधिरीले प्रधानमन्त्री शेरबहादुर देउवाकाे ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सकिन लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुंगोमा पुग्न नसकेकोप्रति उनीहरूले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।
महासंघका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा नै टुंगोमा पुर्याउनका लागि पहल गरेका छन् ।
भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन सञ्चारसम्बन्धी ती कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।
अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरि पत्रकारलाई दुःख दिने काम गरिएको भन्दै महासंघले गुनासो गरेको छ ।
सो अवसरमा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मकरूपमा लिई तत्काल टुंगोमा पुर्याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेलिफोनमार्फत निर्देशन दिएका थिए ।
भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए ।
महासंघले प्रतिनिधिसभा अवधि समाप्त हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुंगोमा पुर्याउन सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij