वेबटिभी खबर
नयाँ दिल्ली । विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसको संक्रमण केही दिनयता क्रमशः बढ्दा सर्वत्र चिन्ता थपिएको थियो । केही दिनयता भने छिमेकी मुलुक भारत, पाकिस्तान र मलेसियामा कोरोना संक्रमित घट्दै जानुले धेरै राहत दिएको छ ।
कोरोनाको अर्को नयाँ लहर आएको अनुमान भइरहेकै बेला यी मुलुकमा निरन्तर संक्रमितको संख्या कम हुँदै गएको हो । भारतमा दैनिक संक्रमित २० हजार नाघिसकेको थियो । अहिले घटेर १० हजारभन्दा कम भएको छ । तर यी तीनवटै देशमा संक्रमणबाट निधन हुनेको संख्या भने कम भएको छैन ।
भारत सरकारले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा ९ हजार चार सय ३६ जनामा संक्रमण पुष्टि भएको छ भने १५७ जनाको संक्रमणकै कारण निधन भएको छ ।
यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ७० जना नयाँ संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । शनिबार त्यहाँ दुई सय ९० जना नयाँ संक्रमित थपिएका थिए ।
मलेसियामा कारोना लागेर पाँच जनाको मृत्यु भएको तथा दुई हजार चार सय ९१ जना नयाँ बिरामी थपिएका छन् । शनिबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीहरूले अझै पनि देशभर ३४ हजार पाँच सय आठ जना सक्रिय संक्रमित रहेका बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij