वेबटिभी खबर
काठमाडौं । रूपन्देहीमा करिब डेढ महिनामा १५ हजारभन्दा बढी नयाँ मतदाताले नामावली दर्ता गराएका छन् ।
स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नामावली दर्ता खुलेसँगै मतदाता जागरूक भएका हुन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनपछि खुला गरेको मतदाता नामावली दर्ता र अध्यावधिकबाट रूपन्देहीमा मात्रै १५ हजार एक सय २२ जना थिपएका छन् ।
स्थानीय तह निर्वाचनअघि १८ वर्ष उमेर पूरा गरेका ३ लाख २३ हजार ७७८ पुरूष, ३ लाख ८ हजार ५७४ महिला र ८ जना तेश्रो लिंगी गरि रूपन्देहीमा जम्मा मतदाता ६ लाख ३२ हजार ३६० जना मतदाता रहेका थिए ।
स्थानीय तहको निर्वाचनपछि ७ हजार ८९४ पुरुष, ७ हजार २२८ महिलाले नाम दर्ता गराएको थिए । जसअनुसार ६ लाख ४७ हजार ४८२ जना मतदाता रहने अनुमान निर्वाचन कार्यालय रूपन्देहीको छ ।
देशव्यापी रूपमा निर्वाचन कार्यालय, प्रशासन कार्यालयहरूबाट मतदाता नामावली दर्ता हुँदै आएको थियो । मतदानबाट बञ्चित हुने डरले नागरिक उत्साहका साथ नामावली दर्ता गराएका छन् ।
असार महिनादेखि सुरुआत भएको नामदर्ता १९ साउनसम्म चलेको थियो । यो समयावधिमा १ हजार ७७ जनाले वाह्य जिल्लाबाट पनि रूपन्देहीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।
हामीले कार्यालयबाट, जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासन कार्यालय मझगावा र इलाका प्रशासन कार्यालय बुटवलबाट दर्ता गरिरहेको थियौ । अधिकांश नयाँ दर्ता र केही त्रुटि सच्चयाउने, ठाउँसारीका नाम दर्ताका लागि आएका हुन् ।
यसका साथै वाह्य जिल्लाका पनि केहीले यहीबाट नाम दर्ता गराएको निर्वाचन कार्यालय प्रमुख अयोध्या भण्डारीले बताए । छोटो अवधिमै उत्साह जनक रुपमा मताधिकार प्रयोग गर्न नागरिकहरू निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा नाम दर्ता गराउन आएको निर्वाचन अधिकारी भण्डारीले बताए ।
कार्यालय प्रमुख भण्डारीका अनुसार पछिल्लो जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार जिल्लामा ११ लाख १८ हजार ९ सय ७५ देखिए पनि त्यसको ६०-६५ प्रतिशत मतदाता हुनपर्छ भन्ने सर्वमान्य सिद्धान्त छ । त्यसैलाई अंगीकार गर्दै निर्वाचन कार्यालयले काम गरिरहेको बताए ।
मतदाता नामावली अद्यावधिक एवं दावी विरोधको कार्यक्रम १२ देखि १९ भदौ सम्म रहनेछ । मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाता, विवरण हटाउने एवम् त्रुटिहरू सच्याउनु पर्ने मतदाता यस अवधिमा आफ्नो सम्बन्धित वडा कार्यालयमा पुगेर त्रुटिहरु सच्याउन सक्नेछन् ।
३ मंसिर २०७९ सम्ममा मतदाननयोग्य १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावली समावेश गरि तयार पारिएको अन्तिम मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा प्रकाशन गरिनेछ ।
उनीहरू नै मतदान गर्न योग्य रहने छन् । १६ वर्ष उमेर पूरा भएकोले नामावली दर्ता गराउन पाउछन् ।
१६ पालिका रहेको जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले ४ मंसिर हुने निर्वाचनको लागि जिल्लामा मतदान स्थल दुई सय आठ वटामा सात सय १७ मतदान केन्द्र हुने अनुमान छ ।
रूपन्देहीका ८ वटा मतदान स्थललाई परिवर्तन गरि अन्यत्र सार्न सिफारिस गरिएको छ । समितिले सिफारिस गरेकै स्थललाई आधार मानेर स्थल तय गरे पनि मतदान केन्द्र भने अद्यावधिक पछि आएको मतदाताको संख्यालाई आधार मानेर तय हुन्छ ।
कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पाँच वटा प्रतिनिधिसभा र १० वटा प्रदेश सभाको लागि आगामी निर्वाचन हुँदैछ । ६ लाख ४७ हजार ४८२ जना मतदाता रहने अनुमान निर्वाचन कार्यालय रूपन्देहीले गरेको छ ।
कार्यालयका अनुसार निर्वाचन क्षेत्र १ मा एक लाख ४१ हजार ५०९ जना मतदता रहेका छन् । जसको ‘क’ मा ७३ हजार ३२७ र ‘ख’ मा ६८ हजार १८२ जना मतदाता रहेका छन् ।
क्षेत्र नम्बर २ को ‘क’ मा ६४ हजार ४५२ र ‘ख’ मा ६४ हजार २२५ गरि १ लाख २८ हजार ६७७ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र ३ को ‘क’ मा ६६ हजार ३३१ र ‘ख’ मा ६८ हजार ४३३ गरि १ लाख ३४ हजार ७६४ मतदाता रहेका छन् ।
यस्तै निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा ५३ हजार ९९१ र ‘ख’ मा ५८ हजार ७० गरि कुल १ लाख १२ हजार ६१ मतदाता क्षेत्र नम्बर ४ मा रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ५ को ‘क’ मा ७५ हजार ५२८ ‘ख’ मा ५४ हजार ९४३ गरि १ लाख ३० हजार ४७१ मतदाता रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij