वेबटिभी खबर
सिन्धुपाल्चोक । मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार दिगो हिसाबले निमार्ण हुन सकेको छैनन् । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् ।
मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, पुल, सडक, विद्युतलगायत विभिन्न संरचनामा क्षति पुगेको थियो ।
यसले गर्दा खोला वारपार गर्न अहिले यस भेगका नागरिकलाई ठूलो समस्या भएको छ । बाढी आएको यतिका समय बितिसक्दासमेत दिगो हिसाबले कुनै पनि काम नभएको मेलम्चीका तारा बानियाँले बताए ।
पुल नहुँदा गर्भवती, बिरामीलाई धेरै समस्या रहेको पाँचपोखरी भोताङका निमा तामाङले बताइन् । गत वर्ष पनि नगरपालिकाको सहयोग र नगर उद्योग वाणिज्य संघको नेतृत्वमा अस्थायीरूपमा ह्युमपाइप हालेर यातायातका साधन आवतजावतमा सहज बनाइएको थियो ।
यस वर्ष पनि दशैँअगावै पुनः ह्युमपाइप हाल्नुपर्ने बजारवासीको माग छ । मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर धितालले अस्थायी संरचनाभन्दा पनि स्थायीरूपमै यस्ता समस्याको समाधान खोज्नुपर्ने बताए ।
मेलम्ची नगर पालिकाले स्थायी संरचना बनाउन प्रदेश र संघ सरकारको पटक-पटक ध्यानाकर्षण गराएको जनाएको छ । तत्कालका लागि ह्युमपाइप नै हाले पनि बेलिब्रिज वा पक्की पुलका लागि पहल भइरहेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।
बाढी आएको केही समयपछि तत्कालीन प्रधानमन्त्री, विभागीय मन्त्रीदेखि राजनीतिक दलका उच्चपदस्त व्यक्तिले विभिन्न प्रतिबद्धता र आश्वासन दिए पनि अहिलेसम्म काम हुनसकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij