वेबटिभी खबर
म्याग्दी । म्याग्दीका राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् ।
गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर उनीहरू गाउँ पसेका हुन् ।
नेपाली कांग्रेसले जिल्लास्तरीय बैठक बसेर सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । नेकपा (एमाले)ले पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण सकेर वडास्तरमा प्रशिक्षण र भेटघाट थालेको छ ।
नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर संगठन सुदृढीकरण अभियानको तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारसमेत सिफारिस गरेको छ ।
एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले गत साउन महिनामा जिल्लाका सबै ६ वटा स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण सञ्चालन गरिएको बताए । उनले अन्नपूर्ण गाउँपालिका-८ राम्चेबाट वडास्तरीय कार्यकर्ता प्रशिक्षण, बैठक र भेटघाट कार्यक्रम सुरु गरेको हाे ।
एमाले निकट अनेमसंघले पनि पालिकास्तरमा कार्यकर्ता प्रशिक्षण अभियान सञ्चालन गरेको छ । कांग्रेस म्याग्दीका सचिव भरत रकालले बुधबार रघुगंगाको मौवाफाँट र बिहीबार मंगलाको बाबियाचौरमा पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण भएको जानकारी दिए ।
बाँकी ४ वटा पालिकामा पनि कार्यकर्ता प्रशिक्षण हुने उनले बताए । नेकपा (माओवादी केन्द्र) म्याग्दीका संयोजक रेशम जुग्जाली (सुवीन)ले जनवर्गीय संगठनको बैठक सञ्चालन भइरहेको र आगामी हप्ता जिल्ला समन्वय समितिको बैठक आयोजना गरिएको जानकारी दिए ।
पालिकास्तरीय कार्यकर्ता प्रशिक्षणसँगै वडास्तरसम्म संगठन सुदृढीकरण, सदस्यता विस्तार र जनवर्गीय संगठन परिचालन गरिने उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका अध्यक्ष वीरबहादुर थापा क्षेत्रीले यसै हप्ता बेनीमा बसेका बैठकले प्रतिनिधिसभामा पूर्वसहायकमन्त्री जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क)मा रामबहादुर शाही र क्षेत्र (ख) मा होमबहादुर थापालाई उम्मेदवार बनाउन नाम सिफारिस गरेको जानकारी दिए ।
उम्मेदवारका आकांक्षीको पहिचान, आकांक्षीप्रति मतदाता तथा कार्यकर्ताको मनोभावना, जितको सम्भावनालगायतका विषयमा नेताले अध्ययन गरिरहेका छन् । विगतको अनुभव, सफलता र कमजोरी पहिचान गरेर चुनाव जित्ने रणनीति बनाउन थालेका छन् ।
जिल्लामा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । गत २०७४ को चुनावमा प्रतिनिधिसभामा एमालेका भूपेन्द्रबहादुर थापा, प्रदेशसभा क्षेत्र (क)मा माओवादीका विनोद केसी र क्षेत्र (ख)मा एमालेकी नरदेवी पुन विजयी भएकी थिइन् ।
त्यो चुनावमा एमाले र माओवादी तथा कांग्रेस र राप्रपाले तालमेल गरेका थिए । गत स्थानीय तह चुनावमा म्याग्दीमा एमालेले चार पालिका प्रमुख, ३ वडा उपप्रमुख र १८ वडा, कांग्रेसले २ पालिका प्रमुख, १ उपप्रमुख, १७ वडा र माओवादी केन्द्रले दुई उपप्रमुख र ६ वडा जितेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij