वेबटिभी खबर
सुदूरपश्चिम । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशका सबै ९ वटा जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । थपिएका मतदातासहित जम्मा मतदाताको संख्या १६ लाख ६९ हजार चार सय ११ पुगेको छ ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीको शिलशिलामा संकलित मतदाता नामावली निर्वाचन आयोगमा पठाइएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्बन्धी कार्य तालिका आयोगले सार्वजनिक गरेसँगै प्रदेश निर्वाचन कार्यालयले गर्नुपर्ने तयारी सम्बन्धी काम सुरु गरिसकेको छ ।
‘निर्वाचनका लागि गर्नुपर्ने तयारी सुरु गरिसकेका छौं’, निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले भने, ‘यस क्रममा मतपेटिकालगायत निर्वाचन सामग्रीको जाँच गर्ने, रुजु गर्ने र ती सामग्री सरसफाइ गर्ने लगायत काम गरिरहेका छौं ।’
कार्यालयका अनुसार गत वैशाख ३० गतेपछि थपिएका नयाँ मतदातामा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय ३० छन्।
कञ्चनपुरमा ९ हजार ८ सय २८, बाजुरामा १ हजार ३ सय ६४, अछाममा ४ हजार ८०, डोटीमा २ हजार १ सय ७२, बझाङमा १ हजार ६ सय ५९, डडेलधुरामा २ हजार २ सय ५८ बैतडीमा २ हजार ८ सय ६ र दार्चुला जिल्लामा १ हजार ६ सय ६४ नयाँ मतदाता थपिएका हुन्।
नयाँ थपिएका कैलालीमा सबैभन्दा बढी ५ लाख ३६ हजार ५ सय ५५ मतदाता र सबैभन्दा कम बाजुरामा ८४ हजार ५४ मतदाता पुगेका छन् । कञ्चनपुरमा ३ लाख ५ हजार १४२, अछाममा १ लाख ६० हजार ३६०, डोटीमा १ लाख २५ हजार ७ सय २६, बझाङमा १ लाख २३ हजार ७ सय ९६, डडेलधुरामा ९२ हजार ३ सय ७७, बैतडीमा एक लाख ५१ हजार चार सय १२ र दार्चुला जिल्लामा ८९ हजार ९ सय ४९ मतदाता पुगेका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा प्रदेशमा जम्मा १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए । २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशमा १४ लाख ३५ हजार छ सय ७४ मतदाता रहेका थिए ।
नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि दोस्रो पटक आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ । स्थानीय तहमा दोस्रो कार्यकालका लागि गएको वैशाख ३० गते निर्वाचन सम्पन्न भइसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र कायम छन् । जनसंख्याको दृष्टिले तराईका जिल्ला कैलालीमा र कञ्चनपुर ठूला जिल्ला हुन् । प्रतिनिधिसभाका कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र रहेका छन् ।
पहाडी जिल्लामा अछाममा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र अन्य छ जिल्लामा एक/एक निर्वाचन क्षेत्र कायम छन् । हालैको जनगणनाको प्रारम्भिक तथ्यांककाअनुसार यो प्रदेशको जनसंख्या २७ लाख ११ हजार २७० पुगेको छ । २०६८ को जनगणनाअनुसार यो प्रदेशको जनसंख्या २५ लाख ५२ हजार पाँच १७ थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij