काठमाडौं । कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले नेकपा एउटै पार्टी भएकाले उनीहरुको भूमिका हेरेर मात्र कांग्रेसले आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्ने बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै महतले अहिले कांग्रेसले केही गर्नु पर्ने परिस्थिति आइ नसकेको बताए । उनले कांग्रेसले अहिले नै हतारिएर अपरिपक्व निर्णय नगर्ने स्पष्ट पारे ।
‘अविश्वास प्रस्ताव ल्याउने, नल्याउने नेकपाको कुरा हो,’ उनले भने, ‘अहिलेसम्म नेकपा एउटै पार्टी हो । उहाँहरु के गर्नु हुन्छ भन्ने थाहा छैन् । अहिले नै कांग्रेसले यसो गर्छ भन्ने अवस्था आइसकेको छैन् ।’
उनले यो सरकारको निरन्तरता कांग्रेसले चाहने वा नचाहने भन्ने विषय नै नभएको स्पष्ट पार्दै सत्ता समिकरण भोलिका दिनमा कसरी अघि बढ्छ भन्ने स्पष्ट भएपछि मात्र परिस्थितिअनुसार कांग्रेसले आफ्नो भूमिका तय गर्ने उनले बताए ।
महतले नेकपाकै दुबै समूहले चाल्ने कदमका आधारमा कांग्रेसले उपयुक्त समयमा आवश्यक निर्णय लिने स्पष्ट पारे । पदाधिकारी बैठकमा सोही अनुसार कुरा भएको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij