Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बर्डफ्लु प्रभावित किसानलाई राहत दिइने

बर्डफ्लु प्रभावित किसानलाई राहत दिइने

  • 334
    SHARES
  • बर्डफ्लु प्रभावित किसानलाई राहत दिइने

    चितवन । बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने भएको छ ।

    बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा एवम् अन्य वस्तको राहत दिने सम्बन्धी मापदण्ड, २०७९ ले गत वर्ष प्रभावित किसानले राहत नपाउने भएपछि यस पटक मन्त्रिपरिषद्मा निर्णय गरी राहत दिन लागिएको हो ।

    मापदण्ड पारित भएपछि मात्र लागू हुने भएकाले यस अघिका प्रभावित किसानको तथ्यांक संकलन गरी यस पटकका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको हो । पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार देशभरका १६ जिल्लामा बर्डफ्लुको प्रभाव देखिएको छ ।

    ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको समितिले दररेट निर्धारण गर्नेछ । चार जिल्ला बाहेक अन्य जिल्लाबाट क्षतिको विवरण विभागमा पुगिसकेको ढकालले बताए ।

    बाँकी ती जिल्लामा छिटो गर्न ताकेता गरिएको छ । बाँकी जिल्लाबाट विवरण आएसँगै विभागले कृषि तथा पशुपक्षी विकास मन्त्रालय फाइल पठाउने छ । ढकालले भने, ‘हामी सकेसम्म साउनमानै मन्त्रिपरिषद्मा फाइल लगेर राहत दिने गरी तयारीमा जुटेका छौं ।’

    आवश्यक कागजात तयार भएकाले चार जिल्लाको क्षतिआपूर्ति विवरण आएपछि मन्त्रिपरिषद्मा पठाउने तयारी गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत दिनेसम्बन्धी मापदण्ड-०७९’ पारित भएसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खुलेको हो ।

    बर्डफ्लु देखिएपछि नियन्त्रणका क्रममा पक्षी, पक्षीजन्य पदार्थ र पक्षी उत्पादन सामग्री नष्ट गर्ने गरिन्छ । बर्डफ्लु नियन्त्रण नियमावली २०७८ मा राहतसम्बन्धी व्यवस्था उल्लेख भए पनि मापदण्ड स्वीकृत नहुँदा कार्यान्वयन हुन ढिलाइ भएको थियो ।

    क्षतिकाे रकम निर्धारण गरी त्यसको ७५ प्रतिशत रकम राहत उपलब्ध गराउने व्यवस्था मापदण्डमा गरिएको छ । मापदण्डमा दररेट निर्धारण समितिले प्रत्येक आर्थिक वर्षको साउनभित्र प्रचलित बजार मूल्यका आधारमा मूल्य निर्धारण गर्ने व्यवस्था उल्लेख छ ।

    मापदण्ड बनेसँगै क्षतिपूर्ति निर्धारण गर्ने बाटो खुलेको हो । गत वर्षको माघ ११ गते मोरङ ग्रामथान गाउँपालिकामा पहिलो पटक बर्डफ्लु देखिएको थियो । ढकालका अनुसार चितवन र काठमाडौं बर्डफ्लुबाट बढी प्रभावित बनेको छ ।

    बर्डफ्लुबाट ६५ करोड हाराहारीको क्षति भएको अनुमान गरिएको छ । सरकारले ७५ प्रतिशत क्षतिको रकम दिँदै गर्दा ५० करोड भन्दामाथि रकम आवश्यक पर्ने अनुमान रहेको छ । बाँकी चार जिल्लाको विवरण आएसँगै वास्तविक तथ्यांक आउने ढकालले बताए।

    क्षतिपूर्तिका लागि सहमतिसहित थप रकम व्यवस्था गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेको हो । मापदण्ड पारित भएपछि अब भने बर्डफ्लुबाट भएका क्षतिको राहत उपलब्ध गराउन सहज हुनेछ ।

    बर्डफ्लुबाट कुखुरा मारिएको लामो समयसम्म राहत नपाउँदा किसानका खोर खाली रहेका छन् । बैंकबाट ऋण लिएर सञ्चालन भएका व्यवसायी थप प्रभावित बनेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij