वेबटिभी खबर
पाल्पा । चिन्ते सामुदायिक वन रामपुर नगरपालिका-१ स्थित छाङ्दी झरनामा रहेको चमेरे गुफामा शिवको मूिर्त भित्र्याइएको छ ।
पर्यटकीय क्षेत्रकोरूपमा विकास हुँदै गरेको यस वनलाई धार्मिक पर्यटन क्षेत्रकारूपमा विकास गर्ने उद्देश्यले भगवान् शिवको मूर्ति भित्र्याइएको हो ।
शिवलिंग, शङ्ख, पर्वत तथा भगवानका आकृति रहेको गुफाभित्र मूर्ति भित्र्याई प्राणप्रतिष्ठा गरिएको छ । चिन्ते सामुदायिक वनका पूर्व अध्यक्ष सीताकुमारी सिंह र सदस्य विष्णुदेवी सिग्देलले मूर्ति सहयोग गरेका हुन् ।
पर्या-पर्यटनको लागि सौन्दर्यीकरणसँगै यहाँको छाङ्दी झरना अहिले आन्तरिक पर्यटकको रोजाइँमा परेको छ । झरनासँगै रहेको चमेरे गुफालाई धार्मिकस्थलकोरूपमा विकास गर्नको लागि पहल सुरु भएको छ ।
कालीगण्डकी नदी नजिकै रहेको गुफाको आफ्नै महिमा भएको भन्दै यसलाई धार्मिक पर्यटन क्षेत्रकारूपमा विकास गरिन थालिएको हो । झरना अवलोकनको लागि आएकी एक जना मातामा देवी चढेपछि गुफामा भगवान् शिवको बास रहेकाले शिवको मूर्ती राखिएको स्थानीय बताउँछन् ।
यहाँको झरनामा पछिल्लो समय रमाउन जानेको भिड लाग्ने भरेको छ । विभिन्न ठाउँबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको पाइन्छ । डिभिजन वन कार्यालय पाल्पाले झरनाको सौन्दर्यकरणको लागि पौडी पोखरी, बाटो, आकर्षक काठको रेलिंगसहित, सेल्फी स्टेसन लगायतका संरचना निर्माण गरेपछि वनले पर्यटक लोभ्याइ रहेको छ ।
यहाँ दैनिकजसो करिब तीन सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । कालीगण्डकी सडक सञ्जालसँग जोडिएकाले पनि पर्यटकलाई आवतजावतमा सहज भएको छ ।
करिब एक सय ५० मिटर माथिबाट झरेको झरनाको पानीमा हिजोआज आन्तरिक पर्यटकहरू पौडी खेल्ने र रमाउनेको दृश्य देख्न सकिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij