वेबटिभी खबर
तनहुँ । तनहुँ जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हुँदै आएका छन् । जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका हुन् ।
अन्य ९ वटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ ।
त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकाय, अन्तर्राष्टिय सीमा, वन, निकुञ्ज तथा आरक्ष, घना बस्तीबाट दुई किलोमिटर, चुरे पहाडको फेदीबाट १ हजार ५ सय मिटर र हाइटेन्सन लाइनबाट २ सय मिटर दूरीमा उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान छ ।
कुनै सर्त पूरा नगरी र उद्योग पनि दर्ता नगरी सञ्चालन गर्ने उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गर्न नेपाल प्राधिकरणमा पत्राचारका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ ।
जिल्ला अनुगमन समितिले विभिन्न मितिमा अनुगमन गरी मापदण्ड विपरीत सञ्चालन हुँदै आएका क्रसर उद्योग बन्द गर्न समितिले निर्णय गरे पनि अटेर गरी सञ्चालन गर्दै आएका जिल्ला समन्वय समितिका सुब्बा नरबहादुर मगरातीले जानकारी दिए ।
त्यसरी सञ्चालन भएका क्रसर उद्योगहरूमा शुक्लागण्डकी नगरपालिकाभित्र ७, म्याग्दे गाउँपालिकामा २ र बन्दिपुरमा १ वटा रहेका छन् ।
शुक्लागण्डकी-७ स्थित ए सिक्स एग्रिगेट कम्पनी प्रालि, मेलमिलाप ढुंगा, बालुवा, गिट्टी उद्योग, शुक्लागण्डकी-२ मा एसएन एलए एग्रिगेट एन्ड क्रसर उद्योग प्रालि, सिद्धेश्वर एग्र्रिगेट एन्ड कंक्रिट ब्लक उद्योग, जय महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज प्रालि र शुक्लागण्डकी-५ स्थित प्रोपर कन्स्ट्रक्सन एन्ड क्रसर इन्डस्ट्रिज प्रालि छन् ।
म्याग्दे गाउँपालिका-४ र ५ मा क्रमश सेती दोभान ब्लक एन्ड एग्रिगेट उद्योग र ढोर बाराही एग्रिगेट इन्डस्ट्रिज रहेका छन् ।
अधिकांश क्रसर उद्योग घरेलु तथा साना उद्योग समितिलगायत अन्य निकायमा पनि दर्ता नगरी सञ्चालन गरेको भेटिएकाले बन्द गर्नका लागि निर्णय गरी सम्बन्धित पालिकामा परिपत्र गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij