Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

जंगली जनावरले बाली खान थालेपछि रातदिन जाग्राम

जंगली जनावरले बाली खान थालेपछि रातदिन जाग्राम

  • 569
    SHARES
  • जंगली जनावरले बाली खान थालेपछि रातदिन जाग्राम

    बैतडी । बैतडीमा जंगली जनावरले बालीनाली खाएपछि किसान चिन्तित भएका छन् । बँदेल, बाँदर र दुम्सीले बालनाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् ।

    खास गरेर मुख्य खाद्यबालीकोरूपमा रहेको मकैबाली जनावरले नष्ट गर्न थालेका छन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जंगली बँदेलले मकैबाली र अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेका दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका हरिश जोशीले बताए ।

    जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानलाई धौधौ परेको छ । उनले भने, ‘दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जंगली बँदलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन धौधौ परेको छ । मकैबाली जंगली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको छ ।’

    पाक्नै तयारीमा रहेको मकैलाई जनावरले नष्ट गर्न थालेपछि समस्या भएको छ । उनले भने, ‘जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ, रातको निद्रा छैन, दिनमा भोक छैन ।’

    मकैको घोका लागेको बेलादेखिनै जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि भोकमरीको चिन्तामा किसान रहेका छन् । बाँदर र बँदेलले लगाताररूपमा मकैबाली नष्ट गर्न थालेपछि ती जनावरलाई कसरी नियन्त्रण गर्ने भनेर किसान चिन्तित भएकाे दशरथचन्द नगरपालिका-५ का रमेश भट्टले जानकारी दिए ।

    रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसानले बताएका छन् । टहरा बनाएर रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल रहेको सुर्नया गाउँपालिकाका स्थानीय बासिन्दा सुरेश महराले बताए ।

    ‘बाँदर धपाउन सबै काम छोडेर आफूहरूले मकैको गोठालो लाग्नु परेको छ । रातभरी खेतमै बस्नु परेपछि बाजागाजाका साधन टहरोमै लगेर गीत गाएर बस्ने गरेका छौं ।’ उनले भने, ‘हरेक वर्ष बँदेल धपाउन पहरा बस्ने गरेका छौं । थाल ठटाउने पनि गरिएको छ ।’

    बाँदरले मकैबालीसँगै आँप, अनार, लगायतका फलफूल पनि नष्ट पार्ने गरेको पाटनकी स्थानीय भागरथी भट्टले जानकारी दिइन् । वर्षेबालीका साथै फलफूल पनि जंगली जनावरले नष्ट गर्ने र जंगलमा मेलापात जान पनि जंगली जनावरको डर हुने गरेको छ ।

    उनले भनिन्, ‘बालीनाली र फलफूल त सखाप पार्दै गएका छन् घासँ, दाउराका लागि जंगल जानसमेत जंगली जनावरको डर हुने गरेको छ ।’ वर्षेबाली जंगली जनावरले नष्ट गर्न थालेपछि किसान भोकमरीको समस्या उत्पन्न हुने चिन्तामा रहेका छन् ।

    साँझ बिहानको छाक टार्नको लागि लगाएको मकै बाली बँदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानको भनाइ छ । विभिन्न रोग कीराबाट बचाएर पाक्न लागेको मकैबाली जनावरले नष्ट पारेको हो ।

    जंगली जनावरको आतंक बढ्दै गएकोले नियन्त्रणको लागि स्थानीय तहले पहल गरिदिनुपर्ने उनीहरूको माग छ । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको उनीहरूले गुनासो गरे ।

    स्थानीय सरकारले पनि बालीनाली जोगाउने योजना ल्याउन सकेका छैनन् । स्थानीय सरकारले किसानका समस्या समाधान गर्न नसकेको दोगडा केदारका किसान इन्द्रदेवशरण भट्टको भनाइ छ ।

    उनले भने, ‘मेहनत गरेर लगाएको बालीनाली र फलफूल जंगली जनावरको बथानले क्षणभरमै सखाप पार्ने गरेको छ, स्थानीय सरकारले यसबारे कुनै योजना बनाउन सकेको छैन्।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij