वेबटिभी खबर
सिन्धुपाल्चोक । जुरे पहिरो गएको आठ वर्ष भएको छ । आजभन्दा आठ वर्षअघि, साउन १७ गते जुरे माथिको पहाड खस्दा जुरेका सिंगो बस्ती नै पुरिदाँ १ सय ४५ जनाको निधन भएको थियो ।
सयौँ घरपरिवार विस्थापित बने । पहिरोपीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन् भने उनीहरूले पीडा पनि भुल्न सकेका छैनन् । पहिरोपीडितका लागि देश-विदेशबाट सर्वसाधारण लगायतका दाताले दिएको २ करोड २४ लाख राहत रकम आठ वर्ष बितिसक्दासमेत सरकारी खातामै अड्किएको छ ।
राहत रकमका लागि पटक-पटक पीडितहरू जिल्ला प्रशासन कार्यालयका साथै गृह मन्त्रालयसम्म धाइरहेपनि अघिल्लो महिना मात्रै मन्त्रिपरिषद्को निर्णयबाट रकम फुकुवा भएसँगै पीडितहरुले रकम पाउने आशा पलाएको बलेफी गाउँपालिकाका रामबहादुर तामाङ बताए ।
पहिरोपीडितका लागि संकलित रकमको खाता फुकुवा भएसँगै कुन मापदण्डअनुसार वितरण गर्ने भन्ने टुंगोमा पुग्न जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवाला तथा पहिरोपीडितहरूसँग अबको बैठकमा छलफल गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष वेदनिधि खनालले जानकारी दिए ।
२०७१ साउन १७ गते तत्कालीन मांखा र राम्चे गाविसको सीमामा पहिरो जाँदा ३० घर पूर्णरूपमा नष्ट भएको थियो भने ५४ घरमा क्षति पुगेको थियो । तीनवटा स्थानीय तहमा ठूलो मानवीय र भौतिक क्षति भयो ।
अरनिको राजमार्ग पूर्णरूपमा लामो समय बन्द रह्यो । भोटेकोसी र सुनकोसी नदीको संगमस्थलबाट लगभग चार किलोमिटर दूरीमा पर्ने जुरेमा पहिराले १८ घण्टा नदी थुनिँदा जुरे आसपास आक्रान्त बनेको थियो ।
सुनकोसी नदी तटीय क्षेत्रका लामोसाँघु, खाडीचौर, बलेफी, सुकुटेदेखि काभ्रेपलाञ्चोक र सिन्धुलीसम्मका नागरिकहरू लामो समय त्रासमा रहे ।
बाह्रबिसे बजारसम्म थुनिएको नदीले डुबाउने सम्भावना बढेपछि बजार र बस्ती पूरै खाली गरिएको थियो । सानिमा हाइड्रो पावर र सुनकोसी हाइड्रो पावरको ड्यामसहित पावर हाउससम्म क्षति पुग्यो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij