वेबटिभी खबर
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब १६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ ।
सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा १५ दशमलव ९४ किलोमिटर सडकको मार्ग खोलिएको पूर्वाधार शाखाले जनाएको छ ।
गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले ३ सय २० मिटर सडकमा ग्राभेल, ५ सय ४२ दशमलव ५३ मिटर सोलिङ, २ सय ३४ मिटर सडकमा आरसिसी ढलान र कजवे निर्माण, ६ वटा कल्भर्ट, ५७ दशमलव ४ मिटर नाली निर्माण भएको जानकारी दिए ।
खिवाङ-घराम्दी र राम्चे-घोडेपानी जोड्ने सडकको मार्ग निर्माण तथा महभिर-हिस्तान-राम्चे सडक स्तरोन्नतिलाई प्राथमिकता दिइएको थियो । घोडेपानीबाट फूलबारी र राम्चेबाट आहालडाँडाबाट सडक निर्माण थालिएको छ ।
खिवाङतर्फबाट घराम्दी जोड्ने सडकको मार्ग खोल्ने उद्देश्यले सडक निर्माण गरिएको छ । २ हजार ८ सय ७४ दशमलव ८ घनमिटर ग्यावियन पर्खाल र १ सय ३२ दशमलव ५३ घनमिटर रिटेनिङ पर्खाल निर्माण भएको छ ।
वडा नं-४ र ५ मा दुई/दुई र १ मा एकवटा झोलुङ्ग पुल निर्माण गरिएको छ । गाउँपालिकाको कार्यक्रमबाट १ हजार २ सय २४ दशमलव ५ मिटर नयाँ पदमार्ग निर्माण र २ हजार ८ सय ९६ दशमलव ७५ मिटर पदमार्ग स्तरोन्नति भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ हजार ५ सय मिटर पदमार्ग निर्माण गरिएको छ । यस वर्ष १९ घरमा नयाँ धारा जडान, ११ हजार ४ सय ४७ दशमलव ६ मिटर खानेपानी लाइन विस्तार, ३३ हजार लिटर क्षमताका ट्यांकी निर्माण, ढल निकासका लागि ७ सय २६ मिटर पाइप लाइन विस्तार र १२ वटा च्याम्बर बनाइएको छ ।
सामुदायिक तथा विद्यालय, मन्दिर, सभाहल र शौचालय २४ वटा निर्माण गरिएका तथा १३ वटाको मर्मत भएको छ । सरकारी अनुदानमा मनसुनजन्य विपद् प्रभावितका आठ घर निर्माण गरिएका छन् ।
दुईवटा प्रवेशद्वार र एकवटा पार्क निर्माण गरिएको छ । पूर्वाधारसम्बन्धी १ सय ६४ वटा योजना रहेकामा १ सय ६१ वटा सम्पन्न भएका गाउँपालिकाका सूचना अधिकारी हरिकृष्ण आचार्यले बताए ।
उनका अनुसार निर्माण व्यवसायीले काम नगरेपछि ५० लाख विनियोजन भएको खिवाङ खानेपानी आयोजनाको ठेक्का रद्द गरिएको छ । तीन योजनाको ठेक्का सम्झौता गरिएको थियो ।
लेखापाल प्रेम पराजुलीले गत आर्थिक वर्षमा चालुतर्फ ७७ दशमलव ९६ र पूँजीगततर्फ ७८ दशमलव शुन्य ६ प्रतिशत प्रगति भएको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij