वेबटिभी खबर
काठमाडौं । सांसदहरूले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
१० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो । तर हत्या भएको चार वर्ष पूरा भइसक्दा पनि दोषी पक्राउ पर्न नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधिसभाको जारी बैठकमा सांसद केदार सिग्देल र गंगा चौधरीले ४ वर्ष पूरा भइसक्दा पनि निर्मला हत्या घटनाको दोषी पक्राउ पर्न नसक्नु दुखद् भएको बताए ।
तत्कालीन ओली सरकारले हत्यारालाई छुट दिन खोजेको आरोप लगाउने तत्कालीन प्रतिपक्षी दलका सांसदहरूको आवाज अहिले सत्तामा पुगेपछि बन्द भएको उनीहरूको आरोप छ ।
सांसद सिग्देलले भने, ‘तत्कालीन ओली सरकारले हत्यारालाई छुट दिन अनुसन्धान नगरेको भन्दै कांग्रेसका माननीयज्यूहरूले यो हलै थर्कनेगरी बोलेको सुनिन्थ्यो । म सोध्न चाहान्छु, देउवा सरकारले यो एक वर्षसम्म अपराधी पत्ता लगाउन केके काम गर्यो ? सिन्को भाँचेको छैन । अपराधीलाई पत्ता लगाई कारबाही गर्न प्रतिपक्ष दल सहयोग गर्न चाहन्छ । दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्छु ।’
साथै सांसद गंगा चौधरीले निर्मला पन्तले न्याय पाएकी हुन् भन्दै प्रश्न गरेकी छन् ।
उनले भनिन्, ‘सदनमा चर्कोचर्को आवाज गुन्जिन्थ्यो । त्यो आवाज खोज्दैछु । निर्मला पन्तले न्याय पाएकै हुन् ? हत्यारा पत्ता लागेकै हो ? हत्यारा पत्ता लागेको हो भने कुन कारागारमा राखेको छ ? दोषीलाई किन सार्वजनिक गरेको छैन ?’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij