Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कर्मचारीहरूले नगरपालिकामा ताला लगाएपछि कामकाज ठप्प

कर्मचारीहरूले नगरपालिकामा ताला लगाएपछि कामकाज ठप्प

  • 430
    SHARES
  • कर्मचारीहरूले नगरपालिकामा ताला लगाएपछि कामकाज ठप्प

    उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरूको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकोमा आन्दोलनरत कर्मचारीहरूले आफूहरू पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् ।

    बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरूले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरू नगपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थियो ।

    एक हप्तादेखि आफूहरूले नगर प्रमुख बसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरू विनाकारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकारी कर्मचारीका तर्फबाट संयोजक कृपाराम चौधरीले बताए ।

    यसै आर्थिक वर्षको साउन १ गतेदेखि नगरपालिकाका ६० अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूको नगरपालिकाले म्याद थप नगरेकाले आन्दोलनरत कर्मचारीहरू स्वतः निष्कासनमा परेको त्रियुगा नगरपालिकाले बताएको छ ।

    नगपार प्रमुख  बस्नेतका अनुसार अस्थायी र करारका धेरै संख्याको कर्मचारी पाल्दा नगरपालिकाले ठूलो आर्थिक व्यय खेप्न परेकाले कुनै आग्रह र पूर्वाग्रहविना नै उनीहरू कसैलाई पनि म्याद थप नगरिएको हो । अब आफूले निर्णय गरिसकेका कारण निर्णयबाट कुनै पनि हालतमा नफर्किने उनको भनाइ छ ।

    आन्दोलनरत कर्मचारीहरू भने आफूहरू विनाकारण निष्कासनमा परेकाले पुनः बहाली नभएसम्म नगरपालिकामा निरन्तर धर्ना दिने, गेटमा ताला लगाउने र नगरपालिकाको कामकाज ठप्प बनाउने अडानमा रहेको बताएका छन् ।

    नगर उपप्रमुख महेस्वरी राईसहित विभिन्न वडाका अध्यक्षहरू, सदस्यहरूसहित गरेर १७ जनप्रतिनिधिहरूले भने तत्काल नगर बैठक बोलाउन नगर प्रमुख बस्नेतलाई एक पत्र लेखेर आग्रह गरेका थिए ।

    वडा नं-१० का अध्यक्ष किरण पाण्डेले भने, ‘एक हप्तादेखि नगरपालिकामा ताला लगेको र कर्मचारीहरूले मूलगेटमा नै बसेर धर्ना दिएका कारण नगरप्रतिनिधिहरूसमेत कार्यालयभित्र छिर्न नपाइएकाले प्रमुखलाई तत्काल बैठक बोलाउन र समस्याको विषयमा छलफल गराउन एक पत्र लेखेर बुझाइएको हो ।’

    आन्दोलनरत कर्मचारीहरूका अनुसार आफूहरू वार्ता विरोधी नभएको र प्रमुखले वार्तामा बोलाएर छलफल गराए त्यहीबाट समस्याको समाधान होस् भन्न चाहेको आन्दोलनरत कर्मचारीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij