वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भीडभाड हुने स्थानमा अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेका छन् ।
सबै सरकारी, गैर–सरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न/गराउन तथा प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गराउन आग्रह गरिएको छ ।
यस्तै विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयोग गर्न/गराउन तथा सेनिटाइजरको व्यवस्था गर्न/गराउन, गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र सेनिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
यस्तै विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भीडभाड हुने प्रकृतिको व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशाला आदिजस्ता सार्वजनिकस्थलमा मास्कको अनिवार्य प्रयोग गर्न, स्वास्थ्य संस्थाले संक्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न/गराउन आग्रह गरिएको छ ।
यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकामा निगरानी थप बलियो र प्रभावकारी बनाउन, भीडभाड हुने स्थानमा कोभिड–१९ नमूना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा कोभिडको अवस्थालाई थप विश्लेषण गर्दै प्रभावकारी कदम चाल्न अनुरोध गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij