Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लालीगुराँस संरक्षण गर्न अभियान सुरु

लालीगुराँस संरक्षण गर्न अभियान सुरु

  • 414
    SHARES
  • लालीगुराँस संरक्षण गर्न अभियान सुरु

    तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरीमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण अभियान थालिएको छ । आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरी मन्दिर आसपास लालीगुराँस संरक्षण अभियान सुरुआत गरिएको हो ।

    कास्कीका ढाकाराम लामिछानेको सक्रियतामा छिम्केश्वरीमा लालीगुराँसका बिरूवा रोपिएको छ । यसक्रममा ११ प्रजातिका ७० बिरूवा रोपिएको लामिछानेले जानकारी दिए ।

    ‘लालीगुराँस फुलाऔं, पर्यटक बोलाऔं : हाम्रो अभियान आगन्तुकको प्रोत्साहन’ भन्ने मूल नारा सहित छिम्केश्वरीमा लालीगुराँसको बिरूवा रोपेको उनले बताए । कास्कीले कास्की जिल्लाको २३ ठाउँमा लालीगुराँसका बिरूवा रोपिसकेका छन् ।

    विगत ६ वर्षदेखि लालीगुराँस संरक्षणमा लागेका उनले पहिलोपटक कास्कीको ठूलोकोटमा लगाएको लालीगुराँस फुल्न थालेको जानकारी दिए । ‘नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षणका लागि निकै कम चासो रहेको पाएपछि यसको संरक्षणका लागि लागेको हूँ,’ उनले भने ।

    ‘लालीगुराँस संरक्षण गर्ने काम नेपालमा नभएपछि त्यसतर्फ झुकाव राखेको काम गर्दै आएको छु ।’ उनका अनुसार हालसम्म ७ हजार ८ सय लालीगुराँसका बिरूवा रोपिसकिएको छ । अहिले रोपिएको लालीगुराँस पाँचदेखि सात वर्षसम्म फुल्छ ।

    अहिलेसम्म ९० प्रतिशत बिरूवा सार्न सफल भइएको उनले बताए । ‘नेपालका सबै ठाउँमा पुग्छु भन्ने लक्ष्य राखेको छु, मुख्य उद्देश्य भनेको लालीगुराँसको संरक्षण गर्नुपर्छ भन्ने नै हो’, उनले भने । उनले यस वर्ष तेह्रथुमबाट ८ सय बिरूवा खरिद गरी ल्याएका छन् ।

    हालसम्म खर्चको व्यवस्थापन आफैंले गर्दै आएको उनले बताए । ‘रोप्नुमात्रै ठूलो कुरा होइन, संरक्षण गर्नु ठूलो कुरा हो । जहाँ-जहाँ रोपिएको छ, त्यहाँका स्थानीयवासीसँग सहकार्य गर्दै आएका छौं’, उनले भने । नेपालमा ३२ प्रजातिका लालीगुराँस रहेको छ ।

    छिम्केश्वरीमा लालीगुराँस संरक्षण अभियानमा आँबुखैरेनी गाउँपालिकाले साथ दिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याललगायतले लालीगुराँसको बिरूवा रोपण गरेका छन् ।

    यस ठाउँमा लालीगुराँस पार्क निर्माण गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष चुमानले जानकारी दिए । लालीगुराँस संरक्षण गर्दै लालीगुराँस हेर्न आँबुखैरेनी जाऔँ भन्ने बनाइने उनले बताए । छिम्केश्वरीको हावापानी लालीगुराँस फूलका लागि उपयुक्त छ ।

    आँबुखैरेनीमा प्रत्येक वर्ष लालीगुराँस फूल्ने गरेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिर पनि रहेकाले यहाँ बर्सेनि सर्वसाधारणको आवतजावत वृद्धि भइरहेको छ । समुद्र सतहबाट २ हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ ।

    विशेष गरी होली र नयाँवर्षको अवसरमा छिम्केश्वरी र बूढीमाईको दर्शन गर्न भक्तजनको भीड हुने गर्दछ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

    सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij