वेबटिभी खबर
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ ।
सार्वजनिक बिदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो । बुधबार गृहसचिवस्तरीय बैठकले उक्त निर्देशन जारी गरेको हो ।
गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही दिनदेखि सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सवारी साधन रोक्ने, चाबी खोस्ने लगायतका गतिविधिहरू भइरहेको उल्लेख गरिएको छ ।
झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन गृहले भनेको छ ।
यसबारे सर्वसाधरणलाई समेत सुसूचित गराउन गृहले प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी सेवाका सवारी साधन बिदाको दिनसमेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिएर मात्र चलाउन गृहले भनेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij