Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

श्रमदानबाट कुलो खन्नेपछि सिँचाइको सपना पूरा

श्रमदानबाट कुलो खन्नेपछि सिँचाइको सपना पूरा

  • 327
    SHARES
  • श्रमदानबाट कुलो खन्नेपछि सिँचाइको सपना पूरा

    नेपालगञ्ज । कृषिमा आकाशे पानीको भर पर्दै आएका बाँकेको बैजनाथ गाउँपालिका-७ पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै पूरा भएको छ ।

    वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो खन्नका लागि श्रमदान गरेपछि सिक्टा सिँचाइको पानी पेडारीगाउँमा पुगेको हो । दुई दिन लगाएर करिब ५ सय मिटर कुलो खन्नेपछि गाउँमा पानी ल्याउन सफल भएको उनले बताए ।

    ‘सिक्टा सिँचाइको नहरबाट गाउँसम्म पानी आउने कुलो बनेको थिएन, आकाशे पानी पर्खदा धानखेती सुक्न थालेपछि कुलो खन्न जुटेका हौं’,वडाध्यक्ष थारुले भने । ‘कुलो खन्ने बजेट नभएका कारण श्रमदानबाटै कुलो खन्नका लागि अगुवाइ गरें र पेडारीवासीले साथ पनि दिए ।’

    वर्षा नभएका कारण गाउँमा रोपाइँ हुन सकेको छैन भने भएको रोपाइँ पनि सुक्न थालेका छन् । श्रमदानबाट निर्माण गरिएको कुलोबाट आएको पानीले पेडारी गाउँको उत्तर-पश्चिम क्षेत्रको करिब दुईसय बिघा जमिनमा सिँचाइ पुग्ने भएको छ ।

    सिक्टा सिँचाइको पश्चिमी नहरअन्तर्गत बैजनाथसम्म पानी पुगेपनि सहायक नहर नबनेका कारण किसानको खेतबारीमा पानी पुर्‍याउन कठिन हुँदै आएको थियो ।

    श्रमदानबाट कुलो खनेर गाउँमा पानी पुगेपछि पेडारी गाउँका किसानलाई खेतमा बाली लगाउन अब आकाशको भर पर्न नपरेको स्थानीयवासी सुदिप लामिछानेले बताए । बाँकेमा लामो समयसम्म पानी नपर्दा ६० प्रतिशत खेत अझै बाझै छन् ।

    पानी पर्ने आशमा जेनतेन रोपाइँ गरेका किसान पनि लामो समयसम्म पानी नपर्दा समस्यामा परेको बताउँछन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकांश स्थानमा सिँचाइको अभावमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताए ।

    उनका अनुसार खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका कयौं स्थानको रोपाइँ हुन सकेको छैन भने अत्यधिक गर्मी र पानी अभावका कारण लगाएको बाली पनि सुक्न थालेको छ ।

    असारको दोस्रो साता पहिलो पटक परेको पानी र सिँचाइ सुविधा पुगेका केही स्थानमा धान रोपाइँ गरेपनि आकाशे पानीकोभर पर्ने किसानको खेत बाँझै रहेको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij