Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किँदै

हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किँदै

  • 382
    SHARES
  • हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किँदै

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो । सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले उक्त व्यवसायमा लगानी बढाउँदै गएका थिए ।

    उनीहरूले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा ४ करोड लगानी गरेका थिए । मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिदै थियो । गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पुर्‍याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो।

    उनीहरू व्यवसायबाट विस्थापित जस्तै भएका थिए । सरकारले बेवास्ता गरेपनि युवाहरू ऋण लिएर पुनः व्यवसायमा फर्किन थालेका हुन् । मेलम्ची बाढीका कारण पूर्णरूपमा विस्थापित भएका हेलम्बुका ट्राउट व्यवसायी जीविकोपार्जनकै लागि अहिले यही पेसामा फर्किन थालेका छन् ।

    भौतिक संरचनासहित ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा ८ फार्मका २ अर्बभन्दा बढीको लगानी डुबेपछि व्यवसायी अहिले पनि ऋणमा छन् तर जीविकोपार्जनको लागि आफ्नो पुरानो सीप र ज्ञानको प्रयोग गर्दै ऋण गरेरै व्यवसायमा फर्किन थालेको व्यवसायी कुलबहादुर खड्काले जानकारी दिए ।

    अहिले हेलम्बुको तिम्बुसहितका ४ स्थानमा ट्राउट माछा फार्म बनिरहेका छन् । अनुकूलताअनुसार जग्गा व्यवस्थापनसहित भौतिक संरचना निर्माण  चलिरहेको छ ।

    केही फार्ममा भर्खर भुरा माछा हालिएको छ । ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा पुनः ठूलो हिम्मत जुटाएर जीविकोपार्जनकै लागि व्यवसायमा फर्किएकाले आफूहरूलाई सरकारले उचित सहयोग गर्नुपर्ने व्यवसायी युवराज खड्काको भनाइ छ ।

    मेलम्ची नदी तटीय क्षेत्रमा सञ्चालित ट्राउट फार्म तथा रिसोर्टबाट रोजगारी पाइरहेका ९० भन्दा बढी युवा बाढीकै कारण विदेश पलायन भएका छन् ।

    करोडौं ऋणमा डुबेका व्यवसायीलाई सरकारले उचित सहयोग गर्नुपर्ने र यसको लागि निरन्तर पहल भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए ।

    काठमाडौं उपत्यकासहित नुवाकोटसम्म निर्यात हुने ट्राउट माछा खानकै लागि बाक्लो मात्रामा पर्यटक हेलम्बु आइपुग्ने गरेका थिए ।

    मेलम्ची खोलाको पहिचान बनेको ट्राउट माछा फार्मले पुन हेलम्बुमा पर्यटन प्रवर्द्धन गराउन ठूलो मद्दत पुग्ने आशा गरिएको छ । यसको लागि सरकारले पनि व्यवसायीलाई उचित सहयोग गर्नुपर्ने स्थानीयको बुझाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij