Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली ‘सूचना विहीन’

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली ‘सूचना विहीन’

  • 420
    SHARES
  • बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली ‘सूचना विहीन’

    काभ्रे । संघीय राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीकारूपमा रहेको बिपी राजमार्गमा सात वर्षदेखि अलपत्र आकस्मिक सूचना प्रणाली (ईआइएस्) बोर्डमा अझै आवश्यक सूचना अद्यावधिक गरिएको छैन ।

    गतवर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ ।

    राजमार्गको धुलिखेल-सिन्धुली-बर्दिबास सडकखण्डमा तत्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेललगायतका सिन्धुलीको बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो ।

    राजमार्ग प्रवेशस्थल धुलिखेलस्थित बोर्डमासमेत मौसमअनुसारको सूचना अद्यावधिक गर्न नसकेको विभागका इञ्जिनीयर अनन्त बरालले बताए ।

    उनका अनुसार धुलिखेल र सिन्धुलीको खुर्कोटका दुई बोर्ड मात्रै केही महिनादेखि सामान्य सूचनाबाहेक सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दूर्घटनाबारे डिस्प्ले गर्न नसकिएको हो ।

    ‘राखेर प्रयोगमा नल्याइएका बोर्ड मर्मत गरी सञ्चालनमा ल्याउने तयारी गर्दैछौं, दुई वटामा समान्य सूचना दिन सकिने बनायौं चालु आर्थिक वर्षभित्र अन्य तीन वटालाई सञ्चालनमा ल्याउने प्रयासमा छौं’, बरालले भने ।

    उनका अनुसार सडक खण्डखण्डमा सूचना दिन अझ छुट्टै प्रणालीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । ईआइएस् व्यवस्थित गरिएको छ वर्षपछि सञ्चालनमा चासो राखेको विभागले उक्त राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई अझै पनि निरन्तरता दिन नसकेको जनाएको हो ।

    हाल धुलिखेल र खुर्कोटको डिजिटल बोर्डमा ‘सवारी चलाउँदा सचेत रहनुस्’, ‘ट्राफिक नियमको पालना गरौं’ जस्ता सामान्य सूचना मात्रै डिस्प्ले भइरहेका छन् । उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले गतवर्ष जाइका एक्सपोर्टस् टिमलाई अध्ययन स्वीकृत दिएको थियो ।

    उसको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइएको जनाइएको छ । विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समयपश्चात उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको जनाउँदै आएको छ ।

    यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्वार गर्न सकिने संयन्त्र निर्माण गर्न सकिने अपेक्षा गरिएको थियो । बिपी राजमार्गलक्षित संघीय राजधानी काठमाडौंबाट अरनिको राजमार्ग प्रवेशक्षेत्र कोटेश्वरमा समेत सूचना बोर्ड राखिएको छ ।

    अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलबाट दायाँतर्फ बिपी राजमार्ग सुरु हुन्छ । राजमार्गमा वर्षा, बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेभसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो ।

    यही जानकारी राजमार्गको वेभसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्कोट, सिन्धुली र बर्दिबासमा रहने सूचना बोर्डमासमेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो । विभागका अनुसार पाँचै स्थानमा डिजिटल सूचना बोर्ड राखिएको छ ।

    राजमार्गको अवस्थाबारे मोबाइल तथा वेभसाइटमा जानकारी लिनसक्ने गरी सात वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचना प्रविधिका भौतिक पूर्वाधारलगाययत संरचना निर्माण तथा व्यवस्थापन गरिएको हो ।

    यतिमात्र होइन, वेभसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तय गर्न सकिने योजना बनाइएको थियो । त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मत-सम्भारका लागि स्थापित उप-आयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो ।

    एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेशनसहित वेभसाइट र ईआइएस्लाई इञ्जिनियररिङ सफ्टवेयर कम्पनी सफ्टवेल प्रालिले ‘प्रणाली’समेत तयार पारिसकेको जनाइएको थियो । यो मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले जनाउँदै आएको छ ।

    यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तररूपमा वर्षात्को मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ ।

    यस्तो केन्द्र काठमाडौं थापाथलीस्थित उप-आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालय तथा सिन्धुलीमा रहने व्यवस्था गरिएको आयोजनाले जनाएको थियो ।

    उक्त प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरण जिपीआरएस् मोडेममार्फत मोबाइल, वेभसाइट र सडक सूचना बोर्डमा आफैं अपडेट हुन्छ । यी विवरणहरू एलइडी डिस्प्लेयुक्त बोर्डमा नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो ।

    २४ औं घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुन सक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार)मार्फत विद्युत् आपूर्ति हुने व्यवस्थासमेत मिलाइएको छ । यस वर्ष मनसुन निकै सक्रिय भएको छ ।

    गत जेठमै भारी वर्षाका कारण हप्तासम्म पनि राजमार्ग अवरूद्व हुन पुगेको थियो । उक्त प्रणालीमार्फत विपी राजमार्ग सडकको अवस्थाबारे तत्काल यात्रुलगायत सरोकारवालाले जानकारी पाउनसके सहज हुने अपेक्षा गरिँदै आइन्छ ।

    उक्त राजमार्ग हाल राजधानीबाट पूर्वी तराईसँग जोड्ने छोटो दूरीकारूपमा रहेको छ । धुलिखेलबाट २०५४ देखि बनेपा-सिन्धुली बर्दिबास १६० किलोमिटर सडक विस्तार गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij