Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सदरमुकाम जाने बाध्यता अन्त्य गर्न गाउँमै अल्ट्रासाउण्ड

सदरमुकाम जाने बाध्यता अन्त्य गर्न गाउँमै अल्ट्रासाउण्ड

  • 425
    SHARES
  • सदरमुकाम जाने बाध्यता अन्त्य गर्न गाउँमै अल्ट्रासाउण्ड

    अर्घाखाँची । मालारानी गाउँपालिका-५ बागीको स्वास्थ्यचौकीमा निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ । गाउँमै अल्ट्रासाउण्ड सेवा पाएपछि बागीका महिला खुसी भएका छन् ।

    गर्भवतीलाई अल्ट्रासाउण्ड गर्न घण्टौं हिंडेर सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्यचौकीमै अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको मालारानी-५ बागीका वडाध्यक्ष तिलक मिश्रले बताए ।

    गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रासाउण्ड अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवाले स्थानीय महिला लाभान्वित हुने वडाध्यक्ष मिश्रले बताए ।

    उनले घण्टौं हिंडेर अल्ट्रासाउण्ड गर्न सदरमुकाम सन्धिखर्क आउनुपर्ने समस्याको समाधान गरी गाउँमै स्वास्थ्य सेवा दिन अल्ट्रासाउण्ड सेवा सुरु गरिएको बताए ।

    उनले भने, ‘यी र यस्तै कार्यक्रमका साथ बागीलाई जिरो होम डेलिभरी वडा बनाउने अभियानमा लागेका छौं ।’ उनले आफूले चुनावमा घोषणा गरेअनुसार मालारानी-५ बागीका जनतालाई स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने प्रयास भइरहेको बताए ।

    यस्तै उनले गर्भवती आमा तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी भइरहेको समेत जानकारी दिए । वडाध्यक्ष मिश्रले बागी तथा मालारानीको स्वास्थ्य सेवाको विकास र विस्तारमा लागिरहेको बताए ।

    प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, स्वास्थ्यचौकी बागी र गाउँपालिकाको सहकार्यमा ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तार भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij