वेबटिभी खबर
काठमाडौं । सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको बाबुआमाको नाममा खोलेको ट्रष्टमा गण्डकी प्रदेश सरकारले १ करोड विनियोजन गरेका छ । यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारूढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए ।
पछि थपिएको २८ करोड बजेटमध्ये १ करोड रुपैयाँ श्रेष्ठका स्व.बाबू पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा १ करोड रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०/५० लाख विनियोजन गरिएको हो ।
पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ ।
पुननारायण र धनकुमारी सामान्य व्यक्तिहरू थिए । स्याङजा भीरकोट नगरपालिका–१ मा उक्त भवन निर्माण गर्न लागिएको बजेट कितावमा उल्लेख छ । मन्त्री श्रेष्ठले सत्ताको दुरूपयोग गर्दै आफ्नै बाबुआमाको नाममा खुलेको ट्रष्टमा बजेट विनियोजन गरेका हुन् ।
यसअघि १ असारमा बजेट वक्तव्यपछि प्रदेशसभा बैठक २० गतेसम्म रोकियो । मन्त्रालयले पठाएका कार्यक्रमहरू अर्थमन्त्रालयले काटेको र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा समावेश नगरेको भन्दै सत्तारुढ दलले नै सदन रोकेको थियो ।
लामो छलफलपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएको छ । सेतो कितावमा थपिएका अधिकांश बजेटहरू वितरणमुखी र कार्यकर्तालाई खुसी पार्ने खालका छन् ।
२८ करोडमध्ये पोखरा १६ नम्बर वडामा मात्रै ६ करोड भन्दा बढी छुट्याइएको छ । यो वडा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काको वडासमेत हो । समग्रमा सबै मन्त्रालयबाट १६ नम्बर वडामा मात्रै २५ करोड हाराहारी बजेट विनियोजन भएको छ ।
यसअघि पनि धेरै बजेट एउटै वडामा परेको भन्दै प्रतिपक्षी र सत्तारूढ सांसदहरूले नै विरोध जनाएका थिए । विरोधपछि पनि सोही वडामा बजेट धेरै थुपारिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij