Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

विकासको नाममा व्यापक अनियमितता

विकासको नाममा व्यापक अनियमितता

  • 457
    SHARES
  • विकासको नाममा व्यापक अनियमितता

    सिरहा । सिरहाको नरहा गाउँपालिका–३ खोरियामा खानेपानीको योजना सम्पन्न नहुँदै कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा भुक्तानी भएको पाइएको छ । गाउँपालिकाले वडा नम्बर ३ मा ‘खानेपानी बोर्डिङ जडान कार्य’ को नाममा छुट्याएको ३५ लाख रूपैयाँ काम सम्पन्न नहुँदै कर्मचारी र प्रतिनिधिको मिलेमतोमा निकासा दिएको हो ।

    वर्तमान वडा अध्यक्ष मो.रुस्तम अन्सारीका भाइ मो.जाविर अन्सारीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर रुस्तम आफैंले नजिकका आफन्तको आँगन र बारीमा बोर्डिङ जडान गरेका छन् । जडान भएका धेरैजसो बोर्डिङ कामै नलाग्ने अवस्थाका भए पनि उनले २५ लाख रूपैयाँ भुक्तानी पाइसकेका छन् ।

    मोटरसहित पानी सञ्चालन गरेर उपभोक्ताको जिम्मा लगाउनुपर्ने भए पनि धेरै बोर्डिङ अझै सञ्चालनमा आउन सकेका छैनन् । अझै ६ वटा बोर्डिङमा मोटर हाल्न बाँकी रहेको वडा अध्यक्ष अन्सारीले स्वीकार गरे । उनले भने, ‘मैले आफैं काम गरेको हो, सबै राम्रो भएको छ, ६ वटामा मोटर हाल्न बाँकी छ । बजारमा पानी तान्ने मोटरको सर्टेज भएकाले हाल्न पाइएको छैन, पाइनेवित्तिकै हालिदिन्छु ।’

    उपभोक्ता समितिका अध्यक्ष अन्सारी भने पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । अघिल्लो दिनसम्म हामीले गरेको सबै काम देखाउँछौं भनेका अन्सार बिहीबार भने सम्पर्कमै आउन चाहेनन् ।

    चुनावको संघारमा सबै काम गर्नुपर्ने भएकाले र रकम हात परिसकेपछि उनले बाँकी काम नगरेको स्थानीयको भनाइ छ ।

    नथुनी अन्सारको घर अगाडि गाडेको बोर्डिङ असफल भएपछि उनको बारीमा अर्को बोर्डिङ गाडे पनि सञ्चालनमा आउन सकेको छैन । त्यसमा मोटर नै हालिएको छैन ।

    मो.कलाम उद्दिनको घर अगाडि पनि दुईवटा बोर्डिङ गाडिएको छ । त्यसमध्ये एउटाबाट धमिलो पानी आउने गरेको छ । कलामउद्दिकी श्रीमती नुरजहाँ खातुनले तीन महिना भए पनि राम्रो पानी नआएको बताइन् । निजी लगानीमा करिब एक सय २० फिट बोर्डिङ जडान गर्दा मात्र सफा खानेपानी आउने गरेको तस्लिफ मियाले बताए । उपभोक्ता समिति अध्यक्ष अन्सारी भने जडान गरिएको सबै बोर्डिङ ७५ फिटदेखि ९० फिटसम्म मात्र रहेको बताउँछन् । माथि नै भएकाले प्रायः पानी नआउने र आए पनि धमिलो पानी आउने गरेको स्थानीयको भनाइ छ । 

    वडा नम्बर ३ को खोरिया गाउँमा मात्र सबै बोर्डिङ जडान गरे पनि १९ थानमध्ये १३ बोर्डिङ मात्र सञ्चालनमा रहेको स्थानीयको भनाइ छ । योजना स्टिमेटअनुसार सबै बोर्डिङमा केएसबी मोटर लगाउनुपर्ने भए पनि सस्तो मूल्यमा पाइने मोटर जडान गरिएको स्थानीय बताउँछन् । 

    नरहा गापा प्रमुख प्रशासकीय अधिकृत सुजितकुमार यादवले चुनावभन्दा अगाडि करिब आठ थान बोर्डिङ जडान भए पनि त्यतिबेला सञ्चालनमा नआएको स्वीकारे । उनले भने, ‘मैले पनि एकपटक गएर हेरेको थिएँ, त्यसपछि सबै इन्जिनीयरले गरिएको लागत स्टिमेट मूल्यांकनअनुसार ३५ लाखमध्ये २५ लाख रकम मात्र भुक्तानी गरेको र बाँकी रकम मूल्या‌ंकनको आधारमा दिनुपर्छ ।’

    उपभोक्ता ऐनअनुसार उपभोक्ता समितिलाई रनिङ बिल दिन नहुने भनिए पनि जनप्रतिनिधि, कर्मचारी र समितिको मिलेमतोमा रकम निकासा गरेकाले अनियमितताको गन्ध दिइरहेको स्थानीय जानकार बताउँछन् ।

    इन्जिनीयर शैलेन्द्र यादवले भने आफूले कामको आधारमा मूल्यांकन गरेर निकासाका लागि सिफारिस गरेको बताए । उनले भने, ‘सबै काम लगभग सम्पन्न भइसकेको छ, बाँकीको मूल्यांकन गरेर निकासाका लागि सिफारिस गर्नुपर्ने छ ।’  स्थानीय तहमा जनप्रतिनिधि तथा कर्मचारीले आसारे विकासको नाममा व्यापक अनियमितता हुने गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij