वेबटिभी खबर
भैरहवा । जिल्ला ट्राफिक कार्यालय रूपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व घट्दो क्रममा छ ।
आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्यांक हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा २२ हजार राजस्व संकलनमा कमी आएको कार्यालयले जनाएको छ ।
जेठमा कार्यालयले ५३ लाख २५ हजार राजस्व संकलन गरेको थियो । गत वैशाखमा ५३ लाख ४८ हजार राजस्व संकलन भएको थियो । सवारीसाधनका चालकलाई गरिने कारबाहीको संख्यामा पनि कमी आएको छ ।
गत चैतमा ६ हजार ७५० चालकलाई कारबाही गरिएको थियो भने वैशाखमा ५ हजार ४६९ सवारी चालकलाई कारबाही गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयले जेठमा ५ हजार ४३१ सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।
ट्राफिक नियम उल्लंघन गर्नेमा ट्रक चालक र मोटरसाइकल चालक बढी छन् । चालु आवको जेठ महिनासम्म ५२ हजार ३०७ ट्रक चालक र २ हजार ९७५ मोटरसाइकल चालक कारबाहीमा परेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij