वेबटिभी खबर
विराटनगर । विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको शीर्षकमाथिको छलफल आज समाप्त भएको छ । प्रदेश नं-१ प्रदेशसभाको बैठकमा सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो ।
छलफलमा प्रदेशसभा सदस्य अमिरबहादुर गुरुङले ओखलढुंगामा यातायात व्यवस्था कार्यालयको सम्पूर्ण कार्य भएर पनि सेवा प्रवाह नभइरहेकाले यथाशीघ्र सेवा सुचार गर्नु पर्ने माग गरे ।
सदस्य कुलप्रसाद साँवाले एकले अर्कालाई गाली गरेर सदनको गरिमा गिर्ने भएकाले यसतर्फ सबैको ध्यानाकर्षण गराउँदै बहुवर्षीय योजनाअन्तर्गत धेरै योजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्न बजेट विनियोजन भएकोमा खुशी व्यक्त गरे ।
सदस्य कुसुमकुमारी श्रेष्ठले बजेटमा प्रादेशिक लोकमार्ग सम्पन्न गर्न बजेट विनियोजनसँगै जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा २ हजार ४०० घर निर्माण गर्न बजेट व्यवस्था भएकाले बजेटको समर्थन गरिन् ।
सदस्य बलबहादुर साम्सोहाङले बजेटमा १ हजार ६०० योजना समेटिएको भए पनि ताप्लेजुङमा ५० वटा मात्र योजना परेको गुनासो गरे । सदस्य बसन्तीदेवी यादवले व्यवस्थित बाटो नबनेकै कारण सहर र गाउँ डुबान परेको जनाउँदै सहरमा सरकारले उचित पार्किङको व्यवस्थामा ध्यान दिनुपर्ने बताइन् ।
सदस्य वीणादेवी राईले धनकुटाको राजारानीमा शहीद पार्क निर्माण गर्न बजेटको माग गरे । बुद्धिकुमार राजभण्डारीले बिरालो बाँधेर श्राद्ध गर्ने बानीको अन्त्य हुनुपर्ने भन्दै बजेट विनियोजन गर्दा भूगोल र जनसङ्ख्यालाई पनि आधार बनाउनुपर्ने धारणा व्यत गरे ।
सदस्य राजकुमार ओझाले ५ अर्बको बजेट घाटा बजेट बनाएर सरकारले जनतालाई अन्योलमा राख्ने प्रयास गरेको आरोप लगाए । सदस्य रामचन्द्र लिम्बूले जनताका आवश्यकता धेरै भएको तर सीमित साधन र स्रोतले सबै आकांक्षा एकैपटक पूरा गर्न सम्भव नभएको जिकिर गरे ।
सदस्य लक्ष्मण तिवारीले सरकार निर्वाचन क्षेत्र गौरवका योजनामा भुक्तानी दिने अवस्थामा नदेखिएको जनाउँदै सरकारले खास योजनाभन्दा टुक्रे योजना ल्याएर रमाउन खोजेको आरोप लगाए ।
सदस्य शिवनारायण गनगाँइले सरकारले ७५ वर्षमाथिका नागरिकलाई सार्वजनिक यातायातमा सहुलियत दिने कुरासँगै बस्ने सिटको पनि आरक्षण हुनुपर्ने माग गरेका छन् । सदस्य श्रीप्रसाद मैनालीले विधिको शासन भए मात्र व्यवस्थाको गरिमा बढ्ने भन्दै झापाको निर्वाचन क्षेत्रमा कुनै पनि योजना नपरेकोमा दुःख व्यक्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij