Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग

  • 340
    SHARES
  • सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग

    काठमाडौं । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके र बर्दियामा मात्रै करिब ४ हजार सिकलसेलका बिरामी छन् ।

    बर्दियाको जनस्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका-११ फच्कहवाका पशुराम चौधरीलाई सिकलसेल एनेमिया रोगले निकै समस्या बनाएको छ ।

    उपचारका लागि उनको लाखौँ रकम खर्चसमेत भएको छ । करिब ४० वर्ष उमेरका चौधरीलाई जन्मदै सिकलसेल रोग भएको हो । उनीजस्ता बिरामीले निःशुल्क उपचार पाउनुपर्छ ।

    नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै थकित भएका पशुरामको आर्थिक अवस्था नाजुक भइसकेको छ । पछि भेरी अस्पताल नेपालगञ्जमा जाँच गराउँदा उनलाई सिकलसेल एनेमिया भएको थाहा भयो ।

    पशुरामलगायत थुपै्र मानिस बारबर्दिया नगरपालिकामा सिकलसेलका बिरामी छन् । बारबर्दियामा स्थानीय तहमा २०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बारबर्दियाका सबै स्थानीयवासीको निःशुल्क रगत परीक्षण गरि तथ्यांक संकलन गरिएको पूर्व नगरप्रमख दुर्गाबहादुर थारूले बताए ।

    उनले बारबर्दियामा सिकलसेलका बिरामीको स्वास्थ्य जाँचका लागि नगर अस्पतालसमेत आफूले निमार्ण गरेको सुनाए । त्यसैगरी बाँके स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको छ ।

    पालिकामा थारू समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी र अन्य बिरामीको जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो । अझै पनि स्क्रिनिङ जारी रहेको उनले जानकारी दिए ।

    कतिपय बिरामीमा त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आसमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौँ खर्च भएको र त्यस्ता शारीरिक समस्या निको पनि नभएको बताए ।

    सिकलसेल एनेमियाका बिरामीलाई सरकारले १ लाखसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपिरहेका छन् ।

    बाँकेको राप्ती सोनारी गाउँपालिका-४ बैजापुर निवासी २८ वर्षीय रामकृष्ण थारूले आफूलाई सिकलसेलको निःशुल्क उपचारबारे जानकारी नभएको उल्लेख गर्दै शारीरिक समस्याका कारण निजी अस्पतालमा मोटो रकम खर्च भएको बताए ।

    ऋण खोजेर जम्मा गरेको ७० हजार खर्च भएको जानकारी दिँदै उनले आफूलाई सिकलसेल एनेमियाको समस्या नभए पनि छोरा र श्रीमतीमा सो समस्या आएको बताए ।

    सिकलसेल विज्ञ डा.राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौँ खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनेमियाको दिगो समाधान भएको बताए ।

    उनले सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताए । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ ।

    अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारतलगायतका मुलुकमा रहेको छ । थारू समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको पाण्डेले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij