वेबटिभी खबर
काठमाडौं । उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताएका हुन् ।
महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उनले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताए ।
उनका अनुसार बागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत पानी प्रदूषित भेटिएको उनले जानकारी दिए । ‘पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौं’, उनले भने, ‘अध्ययनका लागि सबै ठाउँको पानीको नमूना संकलन गरिरहेका छौं ।’
यस्तै बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । नगरपालिकाले जार, ढुंगेधारा, बोरिङको पानी परीक्षण गरेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न १० वटा ठाँउको खानेपानीको नमूना परीक्षण गरिरहेको छ ।
महाशाखाका निर्देशक डा.दासले बल्खु र कोटेश्वरको पानीको सातवटा नमूना लिई परीक्षण भइरहेको बताएका छन् । उनले महाशाखा र काठमाडौं उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको जानकारी दिए ।
डा.दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको बताए । स्वास्थ्य सेवा विभागका अनुसार अहिलेसम्म काठमाडौं उपत्यकाका १२ जनामा हैजा पुष्टि भएको छ ।
तीमध्ये ८ जनाको निको भएर घर फर्किसकेका छन र ४ जना उपचाररत रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वयोधा अस्पतालमा ती बिरामीको उपचार भइरहेको छ । सबैभन्दा पहिले असार ५ गते बागबजारका दुई जना युवतीमा हैजा पुष्टि भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij