वेबटिभी खबर
काठमाडौं । सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका, बालविकास संघर्ष समितिले बालविकास सहजकर्ताको उमेर हदबन्दी नगर्न र स्वेच्छिक अवकास हुन चाहनेलाई गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्न गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराएको छ ।
मंगलबार सुमित्रा कार्की नेतृत्वको संघर्ष समितिले अध्यक्ष कर्णबहादुर मगरलाई चार बुँदे ज्ञापनपत्र बुझाएकाे हाे ।
स्थानीय तीनपाटन सरकारमार्फत प्रदेश तथा केन्द्र सरकारलाई बालविकास तहका सहजकर्तालाई दरबन्दीमा रूपान्तरणको लागि विशेष पहल गर्न माग गरिएको संघर्ष समितिकाे भनाइ छ ।
बालविकास सहजकर्तालाई संघीय सरकारले १० बजेदेखि २:३० बजेसम्म विद्यालयमा बस्नुपर्ने समय तोकेपनि स्थानीय सरकारले १० बजेदेखि ४ बजेसम्म बस्नुपर्ने निर्णयमा संघर्ष समितिले असतुष्टि जनाएको छ ।
समितिले बालविकास सहजकर्तालाई ४ बजेसम्म विद्यालयमा अनिवार्य बस्नुपर्ने निर्णय कार्यान्वय गर्ने हो भने प्राथमिक विद्यालय तह दरबन्दी सरह सेवासुविधा तथा महंगीभत्ताको व्यवस्था गर्नुपर्ने बताएको छ ।
उपयुक्त सेवासुविधाविना विद्यालयमा ४ बजेसम्म बस्नुपर्ने निर्णय गाउँपालिकाले जबर्जस्त कार्यान्वयन गराउन खोजे पूर्वनिर्धारित समयमा मात्रै काम गर्ने संघर्ष समितिले चेतावनी दिएकाे छ ।
संघर्ष समितिले वर्तमान अवस्थामा प्रविधिले निकै फड्को मारिसकेको अवस्थामा प्राविधिक शैक्षिक सामाग्री तथा उचित सिपविकास तालिमको व्यवस्था गर्न गाउँपालिकासँग माग गरेको छ ।
बालविकास संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै अध्यक्ष थापाले मागप्रति आफू सकारात्मक रहेको बताए ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij