वेबटिभी खबर
काठमाडौं । भक्तपुर नगरपालिकाले पुरानो सहरको मुल सडकको दायाँबायाँ हरियाली प्रवर्द्धनको नीति लिएको छ । बुधबारदेखि सुरु भएको १२औँ नगरसभा उद्घाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको सौदर्यता अभिवृद्धि गर्न यस्तो नीति लिएको बताए ।
नगरसभामा आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले त्यसका लागि घरधनी र पसल धनीहरूसँग समन्वय गर्ने बताए । नगरसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका थिए ।
उनले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहे भन्दै चिन्ता व्यक्त गरे । प्रतिनिधिसभाका सांसद् प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताए ।
उनले नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको दाबी पनि गरे ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाई, सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा विष्णुदत्त पौडेल, भनपा-९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतले नगरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij