वेबटिभी खबर
काठमाडौं । एउटा मुद्दामा न्यायाधीश र कानुन व्यावसायीबीच घुससम्बन्धी अडियो सार्वजनिक भएपछि नेपाल बार एसोसिएसनले दोषीलाई कारबाही गर्न माग गरेको छ ।
नेपाल बारकी महासचिव अञ्जिता खनालले बुधबार विज्ञप्ति जारी गर्दै अडियो समाचारका सम्बन्धमा त्यसको आधिकारिकता र सत्यतथ्य छानबिन गरी त्यसमा कोही कसैको संलग्नता पाइएमा कारबाही गर्न माग गरिएको छ ।
संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिका नेपाल बारको प्रमुख लक्ष्य रहेको जनाउँदै यस्ता अवाञ्छित गतिविधिप्रति आफ्नो ध्यानाकर्ष भएको विज्ञप्तिमा उल्लेख छ ।
‘नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरूको नेपाल बार एसोसिएसन निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेन बारे भएको टेलिफोन सम्वादको अडियो सार्वजनिक भएको थियो ।
न्यूज २४ टेलिभिजनले मंगलबार अडियो सार्वजनिक गरेपछि यो विषय बाहिर आएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij