वेबटिभी खबर
काठमाडौं । वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रत्येक स्थानीय तहमा युवाहरूलाई तालिम र यसपछि रोजगारीको पनि व्यवस्था गरिने बताएका छन् ।
प्रदेश युवा परिषद् वाग्मती प्रदेशको पहिलो स्थापना दिवसका अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालिम दिनु अगाडि स्थानीय तहहरूमा युवाहरूलाई स्वयंसेवककारूपमा परिचालन गरिने र उक्त स्वयंसेवकको रिपोर्टका आधारमा आवश्यक तालिम र कार्यक्रम तय हुने जानकारी दिएका हुन् ।
युवाहरूलाई उत्पादन, रोजगारी र व्यवसायमा उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले राष्ट्रिय युवा नीतिलाई आधार मानेर प्रदेश युवा नीति बनाउँदै गरेको बताए । प्रदेशका युवालाई आधार मानेर कार्यक्रम ल्याइने समेत उनको भनाइ छ ।
कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिन, प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभाका सदस्य चन्द्र लामा वाग्मती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी लगायतले युवाहरूले आफ्ना हकअधिकार प्राप्तिका लागि मुखले मात्र नभईकन व्यवहारले काम गर्नुपर्नेमा जोड दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij