वेबटिभी खबर
काठमाडौं । नेपालको प्रमुख पर्यटकीय स्रोत बजार छिमेकी मुलुक भारत र बंगलादेशमा ‘समर टुरिज्म क्याम्पेन’ नामक पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिएको छ । नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित गर्दै उक्त अभियान शुभारम्भ गरेको हो ।
कोभिड-१९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटकसमेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरूलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरिएको परिसंघले जनाएको छ ।
भारतको नयाँदिल्लीलगायत गन्तव्यमा ५० डिग्री हाराहारी तापक्रम पुगेको जनाइएको छ । भारत र बंगलादेशमा अहिले गर्मी बढिरहेकाले शीतलताका लागि नेपाल उपयुक्त गन्तव्य हुने र पर्यटकको संख्या पनि बढ्ने भएकाले अभियान सञ्चालन गरिएको परिसंघका महानिर्देशक दीपकराज जोशीले बताए ।
उनले भने, ‘अहिले भारत र बंगलादेशमा गर्मी भइरहेको बेला मानिसहरूले शीतल ठाउँ कहाँ हुन्छ भनेर खोजिरहेका हुन्छन् त्यस्तो बेला उनीहरूको माइन्डमा नेपाल क्लिक होस् भनेर ‘गर्मीसे बेहालः चलो नेपाल’ भन्ने हिन्दी र बंगलादेशी भाषामा प्रवर्द्धन सामग्री बनाएर प्रचारप्रसार गरिनेछ ।’
महानिर्देशक जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रवर्द्धन गरिने बताए । परिसंघले भारतमा अल इन्डिया एसोसिएशन अफ इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज, पिएचडी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँग सहकार्य गर्दै आएको छ ।
यस्तै बंगलादेशको मेट्रोपोलिटिन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र ढाका च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ । यो अभियान यी संस्थाहरूमार्फत पनि ती देशमा प्रवर्द्धन गरिने जोशीले बताए । परिसंघले नेपालको पर्यटन प्रवर्द्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान सञ्चालन गरेको हो ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भारत र बंगलादेश लक्षित पर्यटन प्रवर्द्धन अभियानले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । बोर्डले पनि यसअघि यस्तै अभियान सञ्चालन गरेको थियो ।
बोर्डले भारत, बंगलादेशलगायत क्षेत्रीय गन्तव्यको बजारीकरण र प्रवर्द्धनमा काम गर्दै आएको छ । सोही प्रभावस्वरूप भारतीय पर्यटक पछिल्लो मे महिनामा करिब ९ प्रतिशत वृद्धि भएको छ । बंगलादेशका २०० प्रतिशतभन्दा बढी बढोत्तरी भएको बोर्डको विश्लेषण छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सजस्ता ठूला नेटवर्क भएका संस्थाबाट गरिने पर्यटन प्रवर्द्धनात्मक अभियानले नेपालको पर्यटनमा सकारात्मक भूमिका निर्वाह गर्ने भएकाले यसबाट पर्यटन क्षेत्रले लाभ लिनसक्ने निर्देशक लामिछानेको भनाइ छ ।
गर्मी मौसममा उनीहरू बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित परिसंघको विश्वास छ । लामो समय कोभिडबाट प्रभावित पर्यटन उद्योगको प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले नै अभियान सञ्चालन गरिएको यो अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
भारत र बंगलादेश दु्रतरूपमा वृद्धि भइरहेको बजार हो । दुवै देशको आर्थिक वृद्धि पनि उच्च छ । नेपालसँग हवाई सञ्जाल राम्रो र सहज पनि भएकाले यी देशका नागरिक अन्य मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज पनि छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतका तीन नयाँदिल्ली, मुम्बई र बैंङलोर गन्तव्यमा सिधा उडान गरिरहेको छ । २०१९ मा २ करोड ६३ लाखभन्दा बढी भारतीय अन्य मुलुकको भ्रमण गएको तथ्यांक छ ।
यस्तै सोही अवधिमा २५ लाख बंगलादेशका नागरिक पनि अन्य मुलुकमा भ्रमणका लागि निस्किएको देखिन्छ । कोभिडपछि उनीहरू बिस्तारै बाहिर निस्कन थालेकाले नै उनीहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो ।
नेपाल भित्रिने विदेशी पर्यटकमध्ये हालसम्मको आँकडामा भारत नै सबैभन्दा अगाडी छ । कोभिडपूर्व वार्षिक २ लाख हाराहारी भारतीय पर्यटक नेपाल आउने गरेको रेकर्ड छ । कोभिड महामारीकै दौरानमा पनि सबैभन्दा बढी भारतीय नेपाल भ्रमणमा आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘टुरिज्म स्टाटिक्स २०२०’का अनुसार सन् २०२० मा २ लाख ३० हजार ८५, सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij